भोजपुरः भोजपुरमा एक जना वडाध्यक्षले स्थानीय युवालाई कुटपिट गरेका छन् । त्यस्तै अर्का वडाध्यक्षले गाउँको योजनाको सन्दर्भमा स्थानीयले चासो राख्दा जनप्रतिनिधिको चरित्र हत्या गरेको भन्दै वडा कार्यालय बन्द गरेका छन् ।
जिल्लाको उत्तरी षडानन्द नगरपालिका वडा नं. १३ का २२ वर्षका युवक तेजबहादुर श्रेष्ठलाई सोही वडाका वडाध्यक्ष इन्द्रकुमार श्रेष्ठले ३ दिनअघि कुटपिट गरेका छन् । स्थानीय एक व्यक्तिसँग सामान्य विवाद भएको सन्दर्भलाई जोडेर सार्वजनिक स्थलमा अध्यक्षले एक्कासी कुटपिट गरेको पीडित तेजबहादुरले बताए ।
वडाध्यक्षको कुटपिटबाट गर्धनमा चोट लागेका श्रेष्ठको सदरमुकामस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । ‘गाउँकै प्रमुख भनेको मान्छेले जनता कुट्दै हिँडेपछि हामीले कोसँग न्याय खोज्न जाने’ उनले भने ।
उता, रामप्रसाद राई गाउँपालिका वडा नं. १ ओख्रेमा एक योजनाको बारेमा जनताले जवाफ खोजेपछि त्यहाँका वडाध्यक्षले वडा कार्यालय बन्द गराएका छन् ।
यही जेठ ५ गते ओख्रेको सप्तमी बजारमा आयोजना गरिएको जनजातिको झाँकी प्रदर्शनीको योजनाको विषयमा पारदर्शिताको कुरा उठाएका थिए । तर वडाबासीको प्रश्नको जवाफ दिनुको साटो वडाध्यक्ष सहदेव राईले वडा कार्यालयको बैठकको निर्णय अनुसार भन्दै सूचना निकालेर कार्यालय बन्द गरेर जनताको काम ठप्प पारेका छन् ।
झाँकी प्रदर्शनीको लागि रु १ लाख बजेट विनियोजन भएकोमा प्रतिस्पर्धामा थोरै समूह मात्र सहभागिता भएका थिए । त्यसैले पुरस्कार बाँड्दा के कति खर्च लाग्यो भनेर गाउँलेले जनप्रतिनिधिलाई प्रश्न गरेको स्थानीय जोगेन्द्र किरातीले जानकारी दिए । झाँकी प्रदर्शनीमा ९ वटा टिम सहभागी भएको प्रत्यक्षदर्शीले बताएका छन् । तर, वडाअध्यक्ष सहदेव राईले १५ टिम सहभागी भएको दाबी गरेका छन् ।
वडाध्यक्ष राईले सो सूचनामा कार्यक्रम भव्य रूपमा गरेको तर बेलुका मादक पदार्थ सेवन गरेर जनप्रतिनिधिहरूलाई गाली गरेकाले चरित्र हत्या भएको उल्लेख गरेका छन् ।