धरानः तलब र अन्य सेवासुविधामा भेदभाव गरिएको भन्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्न डाक्टरहरू आन्दोलित भएका छन् ।
प्रतिष्ठानका इन्टर्न डाक्टरहरूले मासिक ११ हजार ८ सय रुपैयाँ तलब पाउँदै आएका छन् । नेपालको श्रम ऐनअनुसारको तलब पाउनुपर्ने उनीहरूको माग छ । तर प्रतिष्ठानले उनीहरू अध्ययनको क्रममा रहेकाले प्रोत्साहनस्वरूप तलब उपलब्ध गराइएको बताउँदै आएको छ ।
प्रतिष्ठानमा झण्डै डेढ सय इन्टर्न डाक्टरहरू छन् । इन्टर्न डाक्टरहरू आन्दोलनमा उत्रिएपछि प्रतिष्ठानको उपचार सेवा प्रभावित हुन थालेको छ । आफ्ना मागको बारेमा व्यवस्थापन पक्ष गम्भीर नभएको भन्दै प्रतिष्ठानको एमबीबीएस र बीडीएसका इन्टर्न डाक्टरहरू प्रतिष्ठानको उपकुलपति कार्यालयअघि धर्नामा बसेका हुन् ।
इन्टर्न सङ्घर्ष समितिका संयोजक डा. सञ्जय बरालका अनुसार अस्पताल व्यवस्थापनसँग पटकपटक आग्रह गर्दा पनि सुनुवाइ नभएकाले आन्दोलनमा उत्रनुपरेको बताए ।