भोजपुरः दक्षिणी भोजपुरको हतुवागढी गाउँपालिकाका ७ र ८ नं. वडाको पात्लेपानीमा ८७ घर विपन्न परिवारलाई सोलार सेट वितरण गरिएको छ ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र, जर्मन सहयोग नियोग र गाउँपालिकाको साझेदारीमा करीब १६ लाखको रुपैयाँको लागतमा ती परिवारलाई सोलार बाँडिएको हो । सोलार पाउनेमा विपन्न, एकल महिला, दलित र जनजाति रहेको ग्रामीण उर्जाका लागि नवीकरणीय उर्जा कार्यक्रम भोजपुरका प्रमुख राजेश बिष्टले बताए ।

तत्काल विद्युत विस्तार गर्न नसकिएका वडामा अँध्यारोमा बस्न बाध्य भएका परिवार पहिचान गरी प्रत्येक घरलाई ५० वाट क्षमताको सोलार दिइएको गाउँपालिकाका प्रमुख प्रेमकुमार राईले बताए । आगामी वर्ष यसलाई थप विस्तार गर्ने लक्ष्य रहेको उनले बताए ।

सोलारको प्रयोगबाट महिलाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने गाउँपालिकाको उर्जा उपसमितिकी प्रमुख तीर्थ राईले बताइन् । गाउँपालिकामा अझै ४ सय विपन्न घरधुरीलाई वैकल्पिक उर्जाको आवश्यकता रहेको उनको भनाइ छ ।

वडाका विपन्न घरधुरीमा सोलार बिस्तार भएपछि उनीहरूको दैनिक जीवनयापनमा सहज हुने हतुवागढी गाउँपालिकाको वडा नम्बर ७ का अध्यक्ष ध्यानकुमार राईले बताए । विपन्न परिवारका लागि यो कार्यक्रम उपयोगी भएको वडा नम्बर ८ का अध्यक्ष प्रवीण राईले बताए ।