इटहरीः प्रेस सङ्गठन नेपालले स्वर्गीय पत्रकार कृष्ण सेन ‘इच्छुक’को स्मृतिमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । १७ औं स्मृति दिवसको अवसरमा इटहरीको इस्टर्न प्यालेसमा आयोजित कार्यक्रममा इच्छुकप्रति श्रद्धासुमन व्यक्त गरियो ।
नेकपाका सुनसरी जिल्ला सदस्य राजन केडीले इच्छुकको बारेमा जानकारी गराएका थिए । इच्छुकजस्ता निडर र निर्भिक पत्रकार आवश्यक रहेको उनले बताए ।
इच्छुक त्रिआयमिक व्यक्ति रहेको प्राध्यापक डाक्टर बद्रीविशाल पोखरेलले बताए । सिद्धान्त, सङ्गठन र सिर्जनाका प्रतिमूर्तिको रूपमा इच्छुक रहेको उनले बताए ।
कार्यक्रममा आफ्नो धारणा राख्दै नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्काले पत्रकारले पेशागत सुरक्षा अपनाउनुपर्ने बताए । पत्रकारले पार्टीको प्रवक्ताको भूमिकामा होइन निडर र सशक्त रूपमा कलम चलाउन सक्षम हुनुपर्ने उनको भनाइ थियो । त्यसो हुन सकेमा कसैले पनि पत्रकारमाथि औँला ठड्याउने दुस्साहस नगर्ने उनले बताए ।