उर्लाबारीः मोरङको उर्लाबारीमा शनिबार अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री प्रदान गरिएको छ ।
उर्लाबारी नगरपालिकाको सहयोगमा अपाङ्गता भएकाहरूको समूह उर्लाबारीले १५ जनालाई सहायक सामग्री प्रदान गरेको हो । उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी भण्डारीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूलाई ट्राइ साइकल र बैशाखी वितरण गरिएको थियो ।
अपाङ्गता भएका व्यक्तिहरूलाई हिँडडुल गर्न सहज होस् भन्ने हेतुले सहायक सामग्री वितरण गरिएको समूहका अध्यक्ष व्यासकुमार लिम्बूले जानकारी दिए । उपमेयर भण्डारीले अपाङ्गता हुनु रहर नभई बाध्यता भएको बताइन् । उनले उर्लाबारी नगरपालिकालाई नै अपाङ्गमैत्री बनाउने विषयमा नगरपालिका लागिपरेको उल्लेख गरिन् । अपाङ्गता भएका व्यक्तिहरूको भवन निर्माणको विषयमा पनि नगरपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता उनले जाहेर गरिन् ।
त्यस्तै, उर्लाबारी नगरपालिकाका प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष भानुभक्त शर्मा पराजुलीले अपाङ्गता भएका व्यक्तिलाई सबैको साथ र सहयोग आवश्यक रहेको बताए । मङ्गलबारे अस्पताल सञ्चालक समितिका अध्यक्ष समेत रहेका पराजुलीले अपाङ्गता भएका व्यक्तिलाई अपहेलित गर्ने कार्य कोही कसैबाट हुन नहुने बताए । उनले उर्लाबारी नगरपालिकाको वडा नं. ५ लाई अपाङ्गमैत्री बनाइएको बताए ।
त्यस्तै, उर्लाबारी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष गञ्जबहादुर कार्कीले अपाङ्गता भएका व्यक्तिहरूलाई सीप र अवसरको खाँचो रहेको बताए । अपाङ्गता भएका व्यक्ति आर्थिक रूपमा कमजोर भएका कारण समाजबाट अपहेलित हुनुपरेको उल्लेख गर्दै वडा नं. ३ मा सीपमूलक कार्यक्रम अघि बढाइरहेको उनले बताए ।
कसैले अपाङ्गता भएका व्यक्तिलाई हेलाको दृष्टिले नहेर्न पनि उनले आग्रह गरे । उर्लाबारीको वडा नं. ३ मा रहेको मङ्गलबारे अस्पतालमा भएको सो कार्यक्रममा अपाङ्गता भएका व्यक्ति र उनीहरूका परिवारका सदस्यहरूको उपस्थिति थियो ।