धरानः नेपाल तामाङ घेदुङको नवौं राष्ट्रिय महाधिवेशन सुनसरीको धरानमा गर्न माग गर्ने निर्णय भएको छ ।
नेपाल तामाङ घेदुङ सुनसरीका अध्यक्ष सुरज लामाको अध्यक्षता तथा घेदुङका पूर्व केन्द्रीय अध्यक्ष महेन्द्रजंग योञ्जन, महासचिव मोहितकुमार घिसिङ(बाबु), केन्द्रीय सल्लाहकार तथा केन्द्रीय सदस्यहरु र प्रदेश पदाधिकारीको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले घेदुङको विद्यमान विधानमा केही संशोधन आवश्यक रहेको समेत औँल्याएको छ ।
२०५४ सालमा मोरङको उर्लाबारीमा चौथो महाधिवेशन भए यता कुनै महाधिवेशन तथा राष्ट्रिय कार्यक्रम पूर्वाञ्चलमा नभएकाले पनि नवौं महाधिवेशन १ नं. प्रदेश अन्तर्गत सुनसरीको धरानमा गर्नुपर्ने ठहर बैठकले गरेको छ ।
धरानमा महाधिवेशन गर्नुपर्छ भन्ने सन्दर्भमा प्रदेश अध्यक्ष मित्रसेन योञ्जन, केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षहरुको एकमत रहेको घेदुङका सल्लाहकार सुजेन्द्र गोलेले बताए ।
घेदुङका महासचिव मोहितकुमार घिसिङले धरानमा महाधिवेशन गर्ने निर्णयमा ऐक्यबद्धता जनाउँदै जिल्ला समन्वय समिति र थरगत सङ्घसंस्था सम्बन्धमा नवौं महाधिवशेनमा विशेष प्रस्ताव लैजाने प्रतिबद्धता जनाए । घेदुङका सल्लाहकार एवम् पूर्व केन्द्रीय अध्यक्ष तथा अन्तर्राष्ट्रिय तामाङ परिषदका पूर्व अध्यक्ष महेन्द्रजंग योञ्जनले धरानमा महाधिवेशन गर्न उपयुक्त हुने भन्दै अहिले देखिएका असमझदारीलाई महाधिवशेन अगावै सुल्झाउनुपर्नेमा जोड दिए ।