पाँचथरः नेपाल प्रेस युनियन पाँचथरले युनियनको २८ औ स्थापना दिवसको अवसरमा शुभकामना आदान–प्रदान कार्यत्रमको अयोजना गरेको छ ।

फिदिमस्थित पाँचथर उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजित कार्यक्रम नेपाली काङ्ग्रेस नजजागरण अभियानका केन्द्रीय प्रतिनिधि तथा पूर्व सांसद टङ्क राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा प्रेस युनियनले गरिरहेको आन्दोलनमा साथ रहेको उल्लेख गरे ।

कार्यक्रममा नेपाली काङ्ग्रेस पाँचथरका सभापति नरेन्द्रकुमार केरुङ, उप–सभापति मित्रप्रसाद काफ्ले, सचिव रूपनारायण जबेगू र बृजहाङ आङदेम्बे सहभागी थिए । त्यस्तै, क्षेत्र नम्बर २ का सभापति बमप्रसाद लावती, नेपाल पत्रकार महासङ्घका प्रदेश सदस्य विपेन्द्र गौतम, गणेश साम्पाङ, पाँचथर अध्यक्ष लवदेव ढुङ्गानालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

मन्तव्यका क्रममा वक्ताहरूले प्रेस स्वतन्त्रताको लडाइँ पत्रकारका लागि मात्रै नभएको उल्लेख गरे । देशमा भएका ठूला परिवर्तन पत्रकारको समर्थनका कारण सफल भएको वक्ताको भनाइ थियो ।