झापाः उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमन निर्देशिका तत्काल कार्यान्वयनमा लैजाने कचनकवल गाउँपालिकाका जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् ।

उपभोक्ता हित सम्बन्धमा सोमबार बनियानीमा भएको छलफलमा उनीहरूले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमन निर्देशिका तत्काल कार्यान्वयन गर्दै नियमित बजार अनुगमन, उपभोक्ता सचेतना र कारवाही प्रक्रिया अघि बढाउने जनप्रतिनिधिको प्रतिबद्धता छ ।

त्यस्तै, उपभोक्ता अधिकार रक्षाका लागि आगामी नीति र बजेटमै कार्यक्रम समावेश गर्ने समेत उनीहरूले प्रतिबद्धता जनाएका छन् । गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले सीमावर्ती क्षेत्र भएकाले खुला रूपमा भित्रिने उपभोग्य वस्तुका कारण धेरै समस्या रहेकाले त्यसलाई समाधान गर्दै अघि बढ्ने बताए । आलमको अध्यक्षतामा छलफल भएको थियो ।

उपाध्यक्ष निमसरी राजवंशीले नियमित बजार अनुगमन र उपभोक्ता सचेतनालाई विज्ञसँगको समन्वयमा अघि बढाउने बताइन् । प्रमुख प्रशासकीय अधिकृत तुलराज थापामगर, वडाध्यक्षहरू लक्ष्मीनारायण यादव, मेखबहादुर भट्टराई, विजयकुमार राजवंशी, महेशलाल गणेश, कार्यपालिका सदस्य अमृता बोगटी, रीतादेवी परियार, उपभोक्ता मञ्चका रविचन्द्र ओझा, स्वास्थ्य शाखाका जागेश्वरप्रसाद यादवलगायतले उपभोक्ता अधिकार रक्षाका लागि अग्रसर हुने बताए । छलफलको संयोजन संवाद समूहले गरेको थियो ।

त्यस्तै, झापा गाउँपालिकामा भएको छलफलमा आगामी गाउँ सभामार्फत् बजार अनुगमन निर्देशिका पारित गरी राजपत्र प्रकाशित गरेर कार्यान्वयन गर्दै उपभोक्ता अधिकार रक्षा गर्ने प्रतिबद्धता जनाइएको छ । गाउँपालिकाका अध्यक्ष जयनारायण शाह, उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले बजार अनुगमन निर्देशिकालाई अन्तिम रूप दिई तत्काल काम अघि बढाउने बताए ।

निर्देशिकाको अन्तिम तयारीका लागि प्रमुख प्रशासकीय अधिकृत कार्की संयोजक तथा गौरव सङ्ग्रौला र अधिवक्ता खगेन्द्र खरेल सदस्य रहेको समितिसमेत बनाइएको छ ।

छलफलमा वडाध्यक्षहरू राजकुमार यादव, नेत्र खड्का, मोतीलाल गणेश, राजु भारती, दिनेशप्रसाद राजवंशी, हरिबहादुर बानियाँ र नेत्रप्रसाद उप्रेतीले आफ्ना भनाइ राखेका थिए । त्यस्तै, कार्यपालिका सदस्य भाद्रुलाल गणेश, टीका विश्वकर्मा, सपना विश्वकर्मा, तारा कर्मकार, वडा सदस्य कुमार ओली, मोहन पोखरेल लगायतले स्थानीय बजारका विविध समस्याका बारेमा आफ्ना धारणा राखेका थिए । छलफल गाउँपालिका अध्यक्ष शाहको अध्यक्षतामा भएको थियो ।