झापाः स्थानीय तहका जनप्रतिनिधिहरूको लागि दिगो विकास लक्ष्यको स्थानीयकरणसम्बन्धी क्षमता विकास तालीम सोमबार मेचीनगरमा सम्पन्न भएको छ । मेचीनगर नगरपालिकाको सहयोगमा गैर सरकारी संस्था महासङ्घ नेपाल, झापा शाखाले आयोजना गरेको तालीममा नगरका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रशिक्षक विदुर सुवेदीले दिगो विकासका १७ वटा लक्ष्य पूरा गर्न हरेक जनप्रतिनिधिहरू सक्रियपूर्व लाग्नुपर्ने र पूरा गर्न अपनाउनुपर्ने मापदण्डका बारेमा सहभागीहरूलाई तालीम प्रदान गरेका थिए । उनले दिगो लक्ष्य सबैको साझा लक्ष्य भएकाले यसलाई पूरा गर्न सबै उत्तिकै जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

नेपाल सदस्य राष्ट्र भएकाले यो लक्ष्य पूरा गर्न नेपालले समेत प्रतिबद्धता व्यक्त गरेको छ । यो प्रतिबद्धता पूरा गर्नका लागि पनि हरेक नेपाली नागरिक सक्रियतापूर्वक लाग्नुपर्ने सुवेदीले प्रशिक्षणका क्रममा सहभागी जनप्रतिनिधिहरूलाई आग्रह गरे ।

मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्यको सभापतित्वमा भएको कार्यक्रममा उपप्रमुख मीना पोखरेल उप्रेती, गैर सरकारी संस्था महासङ्घ नेपाल, झापा शाखाका अध्यक्ष हरिप्रसाद गौतमलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन गैर सरकारी संस्था महासङ्घ नेपाल, झापा शाखाका सचिव सोमराज ढकालले गरेका थिए ।