पाँचथरः पाँचथरको रानीटारस्थित स्याउडाँडा विमानस्थलको निर्माणकार्य अलपत्र परेको छ । २०६९ सालमा सरकारले अन्तिम सर्भे पूरा गरेको भए पनि छिमेकी जिल्ला तेह्रथुम र इलाममा विमानस्थल निर्माणको काम शुरु भएसँगै फिदिम–८ स्याउडाँडाको काम अलपत्र परेको हो ।
तेह्रथुमको चुहानडाँडामा हवाइ मैदानका लागि बजेट विनियोजन भएर काम शुरु भइसकेको छ । नजिकै अर्को जिल्लामा काम शुरु भएपछि यसअघि नै सम्भाव्यता अध्ययन पूरा गरिएको स्याउडाँडा विमानस्थल छायामा परेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पुख्र्यौली थलो चुहानडाँडामा उनकै अनुरोधमा काम शुरु भएपछि स्याउडाँडा विमानस्थल अलपत्र अवस्थामा पुगेको शिक्षक रामप्रसाद बास्कोटाले जानकारी दिए ।
विमानस्थल निर्माण गर्ने भनिएको स्याउडाँडा क्षेत्रमा स्थानीयले करीब ४ सय २५ रोपनी जग्गा निःशुल्क दिने बताएका थिए । मञ्जुरीनामासहितका आवश्यक काम सकिएको भए पनि सरकारले त्यसतर्फको काम नगर्दा समस्या भएको हो ।
अहिले त स्थानीय सरकारले समेत त्यसका लागि कुनै चासो दिन सकिरहेको छैन । त्यस क्षेत्रमा स्थानीयले ५० रोपनीसम्म जग्गा दिने वचन दिएका थिए ।
२०६७ सालमा पहिलो पटक सम्भाव्यता अध्ययन गरिएको हवाइ मैदानको पुनः सम्भाव्यता अध्ययन गर्ने कार्य अघिल्लो वर्ष यही समयमा गरिएको थियो ।
अघिल्लो वर्षको जेठमा नागरिक उड्यन प्राधिकरणको रियलपाथ इञ्जिनियरिङ कन्सल्टेन्सीको टोलीले हवाई मैदानको पूरक सम्भाव्यता अध्ययन गरेको थियो । एक नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ले हवाइमैदान निर्माणको जिम्मा सङ्घीय सरकारको कार्यक्षेत्रमा पर्ने भएकाले सङ्घीय सरकार र सङ्घीय संसदसँग निरन्तर छलफल भइरहेको बताए ।
यसअघि स्थानीय सरकारले पनि चासो राखेको विषय भए पनि अहिले चासो राखेको पाइँदैन । ठूलो उत्साहका साथ स्थानीयले निःशुल्क जग्गा दिने तयारी गरेको क्षेत्रमा हवाइमैदान नबन्ने देखिएको हो । इलाम र तेह्रथुममा विमानस्थलको काम धमाधम रहेकाले पाँचथरमा काम नहुने देखिएको हो । केन्द्रबाट गरिने काम निरन्तर नभएपछि स्थानीय सरकारले केही गर्न नसकेको बताइएको छ ।