विराटनगरः प्रदेश १ सरकारले ल्याउने बजेटमाथिको पूर्व छलफल शुरु भएको छ ।प्रदेश राजधानी विराटनगरमा अवस्थित प्रदेशसभामा मङ्गलबारबाट प्रदेश बजेटमाथिको पूर्व छलफल शुरु भएको हो । प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरूसहितको पूर्व बजेट छलफल गर्ने प्रस्ताव पेश गरे ।

छलफलमा सहभागी सांसदले कार्यक्रम ल्याउने तर कार्यान्वयन नहुने अवस्था भन्दा कार्यान्वयनमुखी बजेटमा जोड दिए । नेकपाका सांसद उपेन्द्र प्रसाद घिमिरेले जमिन खण्डीकरण रोक्ने जस्ता जनजीविकामा प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रम समेट्न सुझाव दिए ।

सत्तासीन नेकपाकै सांसद कुलप्रसाद साम्बाले बजेटको कार्यान्वयनको पक्षको विषयमा बहस गरिए पनि त्यसमाथिको समीक्षा भने नपुगेको बताए । उनले भने, ‘विकासलाई जनमुखी बनाउन जरुरी छ अनिमात्र जनतामा विश्वास बढ्ने देखिन्छ ।’ उनले संसद विकास कोष अथवा संसद क्षेत्र विकास कार्यक्रमलाई कटौती गर्नुपर्ने सुझाव दिए ।

नेकपाकै सांसद खिनुलङ्वा लिम्बूले यो भन्दा अगाडि योजना प्राथमिकता राखेर बजेट नआएको तर यसपटक आउनु सकारात्मक भएको बताइन । भनिन्, ‘विद्युतीकरणलाई विशेष जोड गर्नुपर्छ । पर्यटनलाई प्रदेशको प्रमुख आयस्रोत बनाउन सकिन्छ ।’

पूर्व बजेट छलफलमा सहभागी अधिकांशले सांसद विकास कोषको रकम बढाए ५ करोड रुपैयाँसमम पु¥याउनुपर्ने माग गरे । प्रदेशको बजेटमाथिको पूर्व छलफलपछि सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । छलफलमा झलकसिंह दर्लामी मगर, नारायणबहादुर मगर, विमल कार्कीलगायतले भाग लिएका थिए ।