इटहरीः कर्मचारी कुटेर र पत्रकारलाई लोपारेर विवादमा आएका इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले भ्रष्टाचारको आरोप लाएका खानेपानी संस्थाका अध्यक्षले आरोपको सार्वजनिक खण्डन गरेका छन् । संस्थाका पदाधिकारी र कर्मचारीहरूसँगै उभिएर पत्रकार सम्मेलन गरेका चौलागाइले इटहरी खानेपानी संस्थाका हरेक आर्थिक क्रियाकलाहरु पारदर्शी, प्रतिस्पर्धात्मक र खुल्ला भएको बताएका छन् ।
सूचनाको माग गरेको अवस्थामा सबै आर्थिक गतिविधिहरू विधान अनुरूप दिन तयार भएको चौलागाइले बताए । इटहरी खानेपानी संस्थाको अभिभावक इटहरी उपमहानगरपालिकानै भएको र संस्थाका हरेक लेखा परीक्षणको प्रतिवेदनको एक प्रति उपमहानगरपालिकामा पुग्ने चौलागाइले बताए ।
खानेपानीका सबै आर्थिक क्रियाकलापहरूको दैनिक कम्प्युटरमा इन्ट्री हुने बताएका चौलागाइले लेखा परीक्षण प्रतिवेदन मेयरकोमै पुग्ने बताए । उनले भने, ‘हाम्रा सबै आर्थिक कामहरूमा जोडिने वार्षिक कार्यक्रम, बजेट स्वीकृत लगायतका सबै कामहरू नियम कानुन अनुसार राष्ट्रिय पत्रिकामा प्रकाशित गरेर गरिन्छन् ।’
खानेपानीका सबै आर्थिक कामहरू पारदर्शी भएको र सूचना माग गरिएमा तत्काल प्रदान गर्न सक्ने भन्दै चौलागाइले भ्रष्टाचारको आरोप तथ्यहीन, कपोकल्पीत र भ्रामक भएको बताए । उनले भने, ‘हामी भ्रष्टाचार नगरी काम गरिरहेका छौँ तर मेयरबाट भ्रष्टाचार भएको भन्ने कुरा आएपछि उहाँले नै छानबिन समिति बनाउनु पर्यो ।’
खानेपानी संरचना अन्तर्गतका ट्याङ्की,, पाइपलाइन बिस्तार, विद्युत् लाइन जडान, जेनेरेटर व्यवस्थापन र अन्य संरचनाहरू आर्थिक वर्ष २०६३,६४ मा नेपाल सरकारको साना सहरी खानेपानी आयोजना प्रक्रिया अनुसारकै टेन्डर भएको चौलागाइले बताएका छन् । यस्तैगरि, आर्थिक वर्ष २०७२, ७३ मा सञ्चालन भएको पुनर्सवलिकरण परियोजनाको अगुवाइ पनि खानेपानी तथा ढल निकास विभाग अन्तर्गत भएको उनले बताए । खानेपानीको जग्गा खरिदमा समेत गलत प्रचार भएको भन्दै चौलागाइले जग्गा चलनचल्तीको भन्दा एक रुपैयाँ कममा खरिद नगरिएको बताए ।
इटहरी खानेपानी संस्थाको अभिभावक संस्था इटहरी उपमहानगरपालिका भएकाले आपैmले भ्रष्टाचार भएको देखिएमा समिति बनाएर छानबिन गर्न चौलागाइले माग गरेका छन् । भ्रष्टाचारको आरोप आयो राजीनामा हुन्छ कि हुँदैन भन्ने प्रश्नमा भने चौलागाइले राजीनामा नदिने बताए । उनले भने, ‘भ्रष्टाचार भयो भनेर अनुमानको भरमा भन्दैमा राजीनामा हुँदैन । प्रमाणित भएमा जस्तोसुकै सजाय भोग्न तयार छु ।’
आफू इटहरी खानेपानी अध्यक्ष भएर सफल भएर बिदा हुन लाग्दा आगामी राजनीतिमा दाग लाउन मेयरलाई एउटा सिन्डिकेटले भ्रष्टाचारको कुरा बोल्न उक्साएको चौलागाइले बताए । उनले भने, ‘खानेपानीबाट बिदा हुन लाग्दा विवादमा पारेर राजनीति सक्न भ्रष्टाचारको हौवा पिटिएको छ । समिति बनाएर छानबिन गरिएपछि सबै कुरा प्रस्ट हुन्छ ।’