बेलबारीः प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामकरण सहमतिकै आधारमा गर्ने बताएका छन् । बुधबार मोरङको बेलबारीमा यलम्बर हाङको शालिकको लोकार्पण गर्दै उनले यस्तो बताएका हुन् ।

राईले प्रदेशको राजधानी समेत सहमतिका आधारमा घोषणा गरिएकाले नामकरण पनि सहमतिकै आधारमा हुने बताए । ‘किरात प्रदेश राख्नका लागि कतैकतैबाट कुरा पनि उठिरहेका छन्’, उनले भने, ‘प्रदेशको नामकरण गर्दा सवैको सहमतिमा कसैलाई असर नपर्ने गरी राख्छौँ ।’

किरात प्रदेश नामकरण गर्न किरात राई यायोख्खाले मुख्यमन्त्रीलाई भेटेर केही दिन अघि ज्ञापनपत्र नै बुझाएको थियो । नामकरणका लागि छलफल भइरहेको समेत उनले बताए । मुख्यमन्त्री राईले जनता मालिक हुने दिन आएकाले अब कसैलाई दोष लगाएर कोही पनि उम्कन नसक्ने उल्लेख गरे ।

मुख्यमन्त्री राईले पर्यटनको सम्भावना समेत प्रदेश नम्बर १ मा धेरै रहेको बताए । देशकै सर्वाेच्च शिखर सगरमाथादेखि होचो केचनाकवल यही प्रदेशमा रहेकाले प्रदेश नम्बर एकमा पर्यटनको सम्भावना रहेको उनले बताए । उनले पर्यटनको क्षेत्रलाई नीति तथा कार्यक्रममार्फत् अगाडि बढाउने समेत बताए ।

पहिलो पटक देशले शक्तिशाली सरकार पाएको भन्दै उनले सरकारको जग भने स्थानीय सरकार नै रहेको बताए । ३ वटा सरकार भएको देशमा विकास भएन भन्ने छुट नहुने उनको भनाइ थियो ।

८ लाख रुपैयाँ लागतमा शालिक निर्माण गरिएको किरात राई यायोख्खाका केन्द्रीय उपाध्यक्ष तिलक राईले बताए ।

कार्यक्रममा बोल्दै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले विभिन्न जातिको धर्म संस्कार र संस्कृतिको संरक्षणले समेत पर्यटनमा ठूलो मद्दत पुग्ने बताए । यलम्बरको शालिकले पर्यटनका लागि थप सहयोग पुग्ने उनको भनाइ थियो ।

आगामी शैक्षिक सत्रमा नगरपालिकाभित्र रहेका आदिवासीमध्ये एक आदिवासीको भाषामा पठनपाठन गर्ने तयारी भएको उनले बताए ।