उर्लाबारीः स्थानीय तहमा जनप्रतिनिधि आएसँगै गाउँगाउँमा विकासको लहर चलेको छ । यसै क्रममा मोरङको उर्लाबारी वडा नं. २ मा विकास निर्माणका कामले तीव्रता पाएको छ ।
वडामा विनियोजन भएको बजेटको परिधिभित्र रहेर यस वडामा सडक, पुल, कल्भर्ट, विद्युतलगायतका काम अघि बढाइएको छ । विकास निर्माणका काम अघि बढिरहेको भए पनि हालसम्म उर्लाबारी नगरपालिका वडा नं. २ मा कुनै पनि सडक कालोपत्रे नभएको वडा सदस्य गोविन्दप्रसाद चौलागाईले जानकारी दिए ।
सडक ग्राभेल, स्तरोन्नति, डे«न निर्माणलगायतका काम भएको उनको भनाइ छ । यस वडामा सुनपकुवा र सुनझोडा गरी २ वटा सामुदायिक माध्यमिक विद्यालय रहेका छन् भने यसै वडामा पर्यटकीय स्थल बेतिनी सिमसार रहेको छ । बेतिनी उर्लाबारी क्षेत्रको मुख्य पयर्टकीय केन्द्र हो ।
त्यस्तै, सोही वडामा लामपाते, बुढाठाकुर, बाँसेचौरीजस्ता पर्यटकीय स्थल रहेको वडाध्यक्ष राजन कँडेलले जानकारी दिए । ती सबै सिमसारको विकासमा वडा कार्यालयले समन्वयकारी भूमिका खेलिरहेको उनले बताए । कृषि क्षेत्रका लागि उपयुक्त मानिने यस वडामा मौरीपालन व्यवसायसमेत फस्टाइरहेको उनले बताए ।
वडाका योजनामा तीव्र गतिमा काम भइरहेको उनले जानकारी दिए । जनतालाई सहज र सुलभ तरिकाले वडा कार्यालयले सेवा प्रदान गरिरहेको उनले बताएका छन् ।
यस वडामा खोला तटबन्धन, विद्युतीकरणलगायतको समस्या रहेको छ । ६ हजार ५ सय ३१ जनसङ्ख्या रहेको यस वडामा ३ हजार ५ सय ५१ महिला र २ हजार ९ सय ८० पुरुषको जनसङ्ख्या रहेको वडासचिव युवराज कोइरालाले जानकारी दिए । सेवाग्राहीलाई छिटोछरितो सेवा प्रदान गर्नका लागि मालपोत र नगदी रसीदलाई अनलाइनमार्फत् सेवा प्रदान गरिँदै आएको वडासचिव कोइरालाले बताए ।