इटहरीः  सार्वजनिक जग्गा मिचेर विद्यालयको संरचना बनाएको इटटहरीको दयानन्द वैदिक मिसन (डीभीएम) ग्लोबल अकाडेमी स्कुल भत्काउने इटहरीका मेयरको मिसनमा ब्रेक लागेको छ ।

गत ८ गते डोजर लिएर भत्काउन पुगेका मेयरले स्कुल सञ्चालकलाई निर्णय गर्न केही समय दिएका थिए । तर, आज जिल्ला अदालतले डीभीएमको क्षेत्रमा तत्काल केही नगर्न आदेश दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालले विद्यालयको जमिनमा तत्काल केही नगर्न आदेश दिएका हुन् । २०७५–सिपी– २२५३ नम्बरको आदेश दिँदै न्यायाधीश भुसालले विद्यालय सञ्चालकहरूले दायर गरेको मुद्दामा फैसला गर्दै केही नगर्न अन्तरिम आदेश दिएका हुन् ।

डीभीएमले ३ बिघा हाराहारी सरकारी जग्गा मिचेर निजी प्रयोजनमा प्रयोग गरेको उपमहानगरको भनाइ छ । ६ कठ्ठा निजी जमिन किनेर बाँकी सार्वजनिक जमिन हडपिएको उपमहानगरको भनाइ छ । सार्वजनिक जग्गामा उपमहानगरपालिकाले १२ गतेबाट तारजाली लगाउन थालेपछि विद्यालय प्रशासनले अदालत गुहारेको थियो ।

अहिले विद्यालयको पक्षमा फैसला आएको विद्यालयका सञ्चालक वेणुप्रसाद सिटौलाले मिडियालाई बताएका छन् । विद्यालयको नाममा रहेको ६ कठ्ठा १६ धुर जग्गामा उपमहानगरले तारजाली लगाएको भन्दै विद्यालय अदालत पुगेको सिटौलाको भनाइ छ ।