उर्लाबारीः मोरङको उर्लाबारी–२ स्थित बेतिनी सामुदायिक वन उपभोक्ता समूहको जग्गा आफूहरूले नहडपेको स्थानीय २ जना व्यक्तिले बताएका छन् ।

उर्लाबारी–३ का टुमनाथ निरौला र गुमबहादुर लिम्बूले पत्रकार सम्मेलन गर्दै आफूहरूले वर्षौंदेखि मालपोत तिर्दै आएको उक्त जग्गाको आफूहरूसँग पूर्जासमेत रहेकाले त्यो हडपेको भन्नु हास्यास्पद भएको बताए ।

बुधबार पत्रकार भेटघाट कार्यक्रम गरी निरौलाले १९९० सालमै नापी भई आफ्नो नाममा पूर्जा कायम भएको बताए । आफ्नो १५ कठ्ठामध्ये ७ कठ्ठा भोगचलन गर्दै आएको र बाँकी ८ कठ्ठा वन क्षेत्रमा बाँस लगाएको उनले जानकारी दिए । आफूले २०२२ सालदेखि मालपोत तिर्दै आएको उनले बताए ।

त्यस्तै, लिम्बूको १२ कठ्ठामध्ये ७ कट्ठा वन क्षेत्रमा बाँसघारी रहेको बताए । २०३६ सालदेखि मालपोत तिर्दै आएको उनको भनाइ छ । उनीहरूले आफ्नो जग्गा कायम गरी पाऊँ भनी उच्च अदालत विराटनगरमा रिट हालेका छन् । उक्त जग्गामा घनाजङ्गल नरहेको र जग्गा आफूहरूले नै प्रयोग गर्दै आएको दाबी उनीहरूले गरेका छन् ।