धरानः किरात राई यायोख्खाले किरात प्रदेशको माग गर्दै धरानमा साकेला उँभौलीको उत्सव समापन गर्ने भएको छ ।
जेठ १८ गते धरान–१७ स्थित साकेला पार्कमा नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा साकेला उँभौलीको समापन हुने भएको हो ।
किरात राई यायोख्खाले बुधबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार साकेला उँभौली समापन समारोहमा १ नम्बर प्रदेशका मुख्यमन्त्री, सभामुखसहितका विशिष्ट व्यक्तिको पनि सहभागिता रहने छ ।
प्रदेश सरकारले साकेला सिलीको संरक्षण, संवद्र्धन, विकास गर्न र यसको मौलिकता बचाइराख्न स्पष्ट नीति बनाउनुपर्नेमा पनि यायोख्खाले जोड दिएको छ । पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सरकारले किरात राईहरूको गर्विलो संस्कृतिलाई राज्यको सम्पत्तिको रूपमा ग्रहण गर्नुपर्छ ।’
यायोख्खाले २०५८ सालदेखि साकेला उँभौलीलाई अभियानको रूपमा मनाउँदै आएको छ । साकेला उँभौलीको समापन समारोहमा ४० हजार जनाको उपस्थिति हुने यायोख्खाको दाबी छ ।