धरानः स्थानीय सञ्चार संस्थाहरूलाई एकीकृत विकासको अवधारणामा लानका लागि सरकार तयार रहेको प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । उनले सञ्चार क्षेत्रको विकासमा प्रदेश सरकारले सहयोग गर्ने पनि बताएका छन् ।

सञ्चार गृह सङ्घ नेपाल धरानले धरान क्षेत्रका सञ्चार संस्थाहरूको विकासका लागि सरकारले गर्नुपर्ने काम र आवश्यक बजेट विनियोजनको मागसहितको ज्ञापनपत्र बुझ्दै सरकार स्थानीय र साना लगानीका सञ्चार संस्थाहरूको विकासका लागि सहयोगी बन्ने बताए ।

मिडिया क्षेत्रको समग्र विकासका लागि सरकार मिडिया सम्बद्ध संस्थाहरूसँग मिलेर काम गर्न तयार रहेको उनले बताए । प्रदेश सरकारले आफ्नै मुद्रण विभाग बनाएर आफ्नो कार्यालय र प्रदेशका सबै कार्यालयहरूको छपाइको काम गर्ने र धरान या इटहरीमा सामुदायिक प्रेस स्थापना गरेर पत्रपत्रिकाहरू सहुलियतमा छपाइ गर्ने सङ्घको प्रस्तावलाई आफू र मन्त्रालयले राम्रो र नयाँ मानेको बताए ।

‘हामी यो प्रस्तावलाई गम्भीरताका साथ लिन्छौं’, उनले भने, ‘अहिलेसम्मको मिडिया विकासको अवधारणामा यो विचार नयाँ हो ।’ सङ्घका तर्फबाट सञ्चार क्षेत्रको विकासमा बजार व्यवस्थापन, प्राविधिक सीप र जनशक्ति व्यवस्थापन, वितरण र पत्रकारिताको विकासका लागि तालीमको व्यवस्था गर्न प्रदेश सरकारसमक्ष माग गरिएको छ ।

सञ्चार क्षेत्रको विकासका लागि भौतिक पूर्वाधार र प्रविधिको पनि विकास गर्नुपर्ने माग सङ्घले गरेको छ । भौतिक पूर्वधार र प्रविधिको विकास तथा सञ्चार क्षेत्रको विकासका लागि उत्पादन हुने जनशक्तिलाई आवासीय तालीम केन्द्रको व्यवस्था गर्न पनि माग गरेको छ । त्यस्तै, सञ्चार क्षेत्रको व्यवस्थित र सङ्गठित विकासका लागि सबै सञ्चार क्षेत्रहरूलाई एकीकृत विकास गर्न, एकीकृत सञ्चार विकास क्षेत्र निर्माण गर्न, आधुनिक छपाइ केन्द्र स्थापन गर्न र सञ्चार उपकरणहरूको खरीद गर्नका लागि लगानी गर्न प्रदेश सरकारसँग सङ्घले माग गरेको थियो ।

सङ्घले प्रदेशभित्रका विज्ञापनहरूलाई प्रदेशका सञ्चार संस्थाहरूलाई पहिलो प्राथमिकता दिएर वितरण गर्न पनि माग गरेको छ । सङ्घले जनशक्ति र मानवीय स्रोतको विकास गर्नका लागि १ करोड १० लाख रकम विनियोजन गर्न र भौतिक पूर्वाधार र प्रविधिको विकास गर्न १६ करोड रुपैयाँको बजेट विनियोजन गर्न पनि माग गरेको छ ।

सङ्घको मागपत्र पढेपछि मन्त्री कार्कीले आधुनिक छपाइ केन्द्रको स्थापना गर्न आफूलाई पनि उत्साह जगाएको बताए । सङ्घले भनेअनुसार नै तालीमका लागि बजेट छुट्याउने, सञ्चार उपकरण खरीद र आवासीय तालीम केन्द्र तथा एकीकृत सञ्चार विकास क्षेत्र निर्माणमा पनि आफू लाग्ने उनले बताए ।

बजेटको सीमितताका कारण कतिपय क्षेत्रमा तत्काल लगानी गर्न नसके पनि योजनाबद्ध विकासका लागि आफू प्रतिबद्ध भएको मन्त्री कार्कीले बताए । उनले विज्ञापनलाई व्यवस्थित गर्न आफूले सम्बन्धित समितिहरू बनाएको र त्यसबाट आएका सुझावहरूमा सङ्घले उठाएका विषयलाई समेट्ने बताए । सङ्घका संयोजक मोतीराज सुनुवारको नेतृत्वमा गएको प्रतिनिधि मण्डलमा धरानका सबै सञ्चार संस्थाका सञ्चालक र अग्रज पत्रकार हर्ष सुब्बासहित प्रतिष्ठित व्यक्ति पनि सहभागी भएका थिए ।