विराटनगरः जीपी कोइराला फाउन्डेसन प्रदेश १ ले विराटनगर–७ स्थित कोइराला निवास परिसरमा पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको नाममा सङ्ग्रहालय बनाउने भएको छ ।
जीपी फाउन्डेसनका अध्यक्ष तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले बिहीबार सङ्ग्रहालय भवनको शिलान्यास गरिन् । उनले भनिन्, ‘स्वर्गीय कोइरालाको जीवनीमा आधारित उपलब्ध भएसम्मका सबै वस्तु सङ्ग्रहालयमा राखिने छ ।’
फाउन्डेसनकी अध्यक्ष सुजाताले स्वर्गीय कोइराला नयाँ नेपालको पिता भएको दाबी गर्दै उनकै सम्झनामा सङ्ग्रहालय निर्माण हुन लागेको बताइन् । प्रदेश सरकारको ४० लाख, सामाजिक विकास मन्त्रालयको २० लाख र विराटनगर महानगरको १५ लाख रुपैयाँको प्रारम्भिक सहयोगमा भवन निर्माण शुरू गरिएको छ ।
कुल ४ करोड खर्च गरेर निर्माण हुने सङ्ग्रहालय ४ तलाको हुनेछ । स्वर्गीय कोइरालाले सुत्ने ओछ्यानदेखि निजी जीवनमा प्रयोग गर्ने सबै सामग्री सङ्ग्रहालयमा प्रदर्शनीमा राखिने भएको छ । त्यस्तै विदेशी राष्ट्राध्यक्षसँग खिचेका फोटा, लत्ताकपडा लगायतका सामग्री राखिने भएको छ ।
अध्यक्ष सुजाताले सङ्ग्रहालयमा गिरिजाप्रसादका बाबु कृष्णप्रसाद कोइरालाका ५ छोरा मातृका, बीपी, केशव, गिरिजा र तारणिप्रसादका सबै सामग्री प्रदर्शनीमा राखिने बताइन् । प्रदेशकै पर्यटकीय गन्तव्य हुने यो सङ्ग्रहालय अवलोकन गर्न विदेशीहरू पनि आउने उनको दाबी छ ।
फाउन्डेसनको प्रदेश १ की अध्यक्ष इन्दिरा थापाले आगामी २ वर्षभित्रै सङ्ग्रहालय निर्माण गरिसक्ने बताइन । काङ्ग्रेस प्रमुख सचेतक केदार कार्की र विराटनगरका मेयर भीम पराजुलीले सङ्ग्रहालयको निर्माणमा सहयोग गर्ने बताए । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति घनश्यामलाल दासलगायतले कोइरालाको जीवनीमा आधारित सङ्ग्रहालय निर्माण हुनु देशकै लागि गौरवको विषय भएको बताए ।