विराटनगरः विराटनगर महानगरपालिका वडा नम्बर ३ ले आगामी वर्षको योजना तर्जुमा तथा छनोट कार्य शुक्रबार सम्पन्न गरेको छ ।

महानगरपालिका प्रमुख भीम पराजुलीको उपस्थितिमा भएको कार्यक्रममा वडाध्यक्ष विनोद बस्नेतले योजनाबारे जानकारी गराएका थिए । उनले निर्वाचित भएयता गरेका कामको विवरण पनि प्रस्तुत गरेका थिए ।

जनजीविकामा प्रत्यक्ष प्रभाव पार्ने र तल्लो तहबाट प्रस्ताव भई आएका योजनालाई प्राथमिकता दिन महानगरका प्रमुख पराजुलीले सुझाव दिएका थिए । उनले भने, ‘आगामी विकासका कार्यक्रम कस्तो बनाउने भन्नेमा वडा आफैं स्वायत्त भएकाले कार्यान्वयनमुखी योजनामा ध्यान दिनुपर्छ ।’ वडा नम्बर ३ ले प्लाष्टिक झोलामुक्त अभियानदेखि ज्येष्ठ नागरिक सम्मान जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

पराजुलीले जनअपेक्षाअनुरूप विकासका कार्यक्रम तय गर्न आवश्यक रहेको औँल्याए । कार्यक्रममा उपप्रमुख इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीलगायतले आ–आफ्ना धारणा राखेका थिए । सो कार्यक्रममा ज्येष्ठ नागरिक मनमाया घिमिरे, धनपति दाहाललगायतलाई सम्मान गरिएको थियो ।

समयमै काम सम्पन्न गर्ने टोल सङ्गठनका ३ जना अध्यक्षहरूलाई सम्मान पनि गरिएको थियो ।