झापाः अर्जुनधारा नगरपालिका आगामी नीति तथा कार्यक्रमका लागि विभिन्न सङ्घ संस्थाका सुझाव सङ्कलन गर्न छलफलमा जुटेको छ ।
नगरप्रमुख हरिकुमार रानाले नगरका विभिन्न सङ्घसंस्थाका सोच, विचारलाई आगामी नीति तथा कार्यक्रममा समावेश गरी अघि बढाउने उद्देश्यले छलफललाई निरन्तरता दिएका छन् ।
यस क्रममा नगर प्रमुखको सभाकक्षमा क्रसर उद्योगी व्यवसायीसँग उनीहरूको समस्या र समाधानको विषयमा केन्द्रित रहेर छलफल सम्पन्न भएको छ । क्रसर उद्योग व्यवसाय ऐन तथा कार्यविधिअनुसार सूचीकृत गरिने भएको छ ।
अर्जुनधारा नगरपालिकाको समग्र पूूर्वाधार विकासका लागि प्राकृृतिक रूपमा खोलामा बगेर आएको खानीजन्य सामग्रीहरूले निकट भविष्यमा नपुग्ने भएको हुँदा पहाड तथा चट्टानको ढिस्कोको खोज अनुसन्धान गरिने निर्णय भएको छ । त्यसका लागि नगरको विशेष प्रस्ताव बनाई प्रदेश सरकारमा पेश गरिने नगर प्रमुख रानाले जानकारी दिए ।
क्रसर उद्योगीहरूलाई स्थान व्यवस्थापन गर्न नदीसहित खोला क्षेत्र बाहेक जमिनको खोजी गरिने भएको छ । त्यसमा जग्गा प्राप्त नभइन्जेलसम्मका लागि सोही स्थानमा रहेर व्यवसायीले कार्य सञ्चालन गर्नुपर्ने निर्णय भएको नगरका खरिदार खगेन्द्र लिङ्देनले जानकारी दिए ।
पूर्वाधार विकास नदीजन्य सााग्रीहरूलाई व्यवस्थापन तथा समन्वय गर्नका लागि शेरबहादुर थापा, मिलन बस्नेत र कुमार गिरीलाई जिम्मेवारी तोकिएको लिङ्देनले जानकारी दिए ।
यता, खोलामा नम्बरी जग्गा पर्ने जग्गाधनीको समस्याको समाधान गर्न नगर प्रमुखले जग्गाधनीसँग अन्तरक्रिया गरेका छन् । नदीजन्य खानी ऐनलाई मध्यनजर राख्दै नम्बरीवाला जग्गाधनीबाट एक समिति निर्माण भएको छ । समितिमा इन्द्र शिवाकोटी, खगेन्द्र खतिवडा, भोला बराल, प्रेम आचार्य, गणेश प्रधान, अच्युत कोइराला, माधवी ढुङ्गेल रहेका छन् ।
यता, टयाक्टर, ट्रक र टिपर व्यवसायीसँग पनि नगरपालिकाले छलफल गरेको छ । नगरको मुख्य सडकमा विद्यालय समयलाई ध्यान दिँदै टाइम कार्ड लागू गर्न लागिएको नगर प्रमुख रानाले बताए । उनका अनुसार बिहान साढे ९ बजेदेखि साढे १० बजे र अपराह्न्न साढे ३ बजेदेखि साढे ४ बजेसम्म टाइम कार्ड लागू हुने भएको छ ।
विद्यार्थी कर्मचारीलगायतलाई सहज हुनेगरी टाइम कार्ड लागू गरिने उनको भनाइ छ । टाइम कार्ड भने नगरसभाले पारित गरेपछि आगामी साउन १ गतेदेखि लागू हुने जनाइएको छ ।
ट्याक्टर व्यवसायी, नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधिसँग बसेको बैठकले सो निर्णय गरेको हो । टाइम कार्डलाई उल्लङ्घन गरेमा १० हजार रुपैयाँ जरिवाना लिने पनि निर्णय भएको छ । नगर प्रमुख रानाले आम नागरिकको हितविपरीत हुने काम नगर्न पनि बैठकमा अनुरोध गरे ।
पहिलोपटक नियम उल्लङ्घन गरेको फेला परेमा ६ हजार जरिवाना गर्ने निर्णय गरेको छ । दोस्रो पटकमा ८ हजार, तेस्रो पटकमा १० हजार जरिवाना गर्ने निर्णय भएको छ । चौथो पटक पनि फेला परे सवारीसाधन जफत गरी यातायात व्यवस्था कार्यालय मेचीमा कारबाहीको लागि पठाउने निर्णय पनि भएको छ ।
बैठकले व्यवसायीले प्रतिबन्धित समय अगावै घाटगद्दी गरेको नदीजन्य सामग्रीको प्रमाणित गर्ने व्यवस्था पनि गरेको छ । बर्खा लाग्नुअगावै गरिएको घाटगद्दीको नगरपालिकाले प्रमाणित गरेको खण्डमा ओसारपसार गर्न मिल्ने बताइएको छ । बैठकमा प्रमुख प्रशासकीय अधिृकत पङ्कज भुर्तेल, अर्जुनधाराका ट्याक्टर व्यवसायी गणेश प्रधान, शनिश्चरे प्रहरी कार्यालयका इन्चार्ज राजन खड्का, वडा नम्बर ९ का रुद्र न्यौपाने, नवराज खड्का लगायतले बोलेका थिए ।