बेलबारीः चितवनको राप्ती नगरपालिकाको उपमेयरसहितको स्थानीय तहको टोली बेलबारी नगरपालिकाकाले गरेका विकास निर्माण तथा नगरपालिकाले गरेका अन्य कामबाट प्रभावित बनेको छ् ।
उपप्रमुख डा. इमानसिंह लामासहितको टोली शनिबार बेलबारी नगरपालिकामा आएको हो । बेलबारी नगरपालिकाले गरेको काम हेर्दा अन्य स्थानीय तहको भन्दा फरक लागेको लामाले बताए ।
‘जुनसुकै काम हेर्दा पनि गुरुयोजना बनाएर शुरु गरिएको रहेछ । बेलबारीबाट सिक्न सकिने धेरै रहेछ’, उनले भने, ‘यो क्षेत्रमा पर्यटनको सम्भावना छ भन्ने सुनेका थियौँ नगरपालिकाले गरेका गतिविधि हेर्दा हामीलाई समेत आनन्द आयो ।’
सो टोली भारतको सिक्किम हुँदै बेलबारी आइपुगेको हो । टोली बेतना सिमसारसमेत घुमेको थियो । दुई नगरबीचको अनुभव साटासाट गर्न सके फाइदा पुग्ने राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागाईंले बताए । उनले दुवै नगरपालिकाको अनुभव साटासाट गरेर काम गर्नसमेत आग्रह गरे ।
सो टोलीलाई बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले स्वागत गरेकी थिइन् । उनले जनप्रतिनिधि आएपछि गरिएका गतिविधिको बारेमा समेत जानकारी गराएकी थिइन् ।