धरानः नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किराँत सभ्यता भएको बताउँदै प्रदेश नम्बर १ को नाम किराँत हुनु पर्ने पक्षमा आफू रहेको बताएका छन् । किराँत राईको वैशाखे पूर्णिमाबाट सुरु भएको उभौली अर्थात् साकेलाको समापनको अवसरका किराँत राई यायोक्खा सुनसरीले धरान–१७ स्थित साकेला पार्कमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू किराँतको पक्षमा रहेकाे बताए । किराँतलाई अलग राखेर सहमति गर्न नहुने उनको तर्क थियो ।
दाहालले भने ‘सहमतिको आधारका प्रदेशको नामकरण गर्नुपर्छ, तर किराँतको इतिहास र सभ्यतालाई स्थापित गर्ने गरी मात्र सहमति गर्नुपर्छ ।’ उनले आफूले सबै जातजातिको अधिकार लागी लड्दै आएको बताउँदै पहिचान स्थापित गर्ने कुरामा आफू कहिल्यै पछि नपर्नै धारणा राखे । ‘हिजो एकल जातीय पहिचानको आधारमा शासन गर्ने पृथ्वीनारायण शाहले समेत किराँत अस्तित्व स्कीकारका थिए’ उनले भने – ‘झन् हामी त कम्युनिस्टहरू सबैको अस्तित्वका लागी लडेका मान्छे, हामी सधैँ तपाइहरूकै पक्षमा छौँ ।’
कम्युनिस्टहरू उत्पीडित जातिहरूको सम्मान तथा पहिचान दिनकै लागी सङ्घर्ष गरेको कारण पनि आफूहरू पहिचानको पक्षमै रहेको उनले स्पष्ट पारे । साथै उनले प्रदेशको नामकरणमा पार्टी केन्द्रीय कार्यालयले कुनै पनि खालको ह्वीप जारी नर्गने समेत उल्लेख गरे ।
उनले ऐतिहासिक दस्ताबेजका आधारमा किरातहरुको पहिचान झल्कने कुरामा आफू सकारात्मक भएको र प्रधानमन्त्री केपी शर्मा ओलीको समेत यसमा सहमति रहेको बताउँदै यसका लागि सबै पक्षलाई स्वीकारयोग्य बनाउन र सहमतिबाटै टुंग्याउन पहिचानवादीहरूले दबाब दिनुपर्नेमा जोड दिए ।