उर्लाबारीः ठेकेदारको चरम लापरवाहीका कारण मोरङको उर्लाबारी–मधुमल्ला सडक खण्डको कालोपत्रे भत्किएर हिँडडुलमै समस्या भएपछि स्थानीयवासीले आन्दोलन गर्ने तयारी थालेका छन् ।
शनिबार स्थानीयवासीले आन्दोलनका बारेमा छलफल गरेका हुन् । छलफलको क्रममा जेठ २५ गते पत्रकार सम्मेलन गरेर सङ्घर्षका कार्यक्रम घोषणा गर्ने निर्णय भएको सङ्घर्ष समितिका सदस्य प्रभु राईले जानकारी दिए । स्थानीय सामुदायिक विकास मञ्चको अगुवाइमा प्रदेश नंं. १ मुख्यमन्त्रीको कार्यालय विराटनगर, सडक डिभिजन कार्यालय, पूर्र्वाधार विकास कार्यलय विराटनगर, उर्लाबारी नगरपालिकालगायतमा ज्ञापनपत्र बुझाइएको थियो ।
सडक कालोपत्रे हस्तान्तरण हुनुअगावै भत्किएर सवारी साधन सञ्चालन तथा हिँडडुलमै समस्या भएपछि आन्दोलनको विकल्प नभएको स्थानीयको भनाइ छ । खाल्डाखुल्डीको कारण दुर्घटनासमेत हुने गरेको छ । दैनिक सयौं सङ्ख्यामा टिपर, ट्याक्टर, यात्रुवाहक बस, अटो, सफारी, मोटरसाइकललगायत सवारी साधन सञ्चालन हुने उक्त सडकको अवस्था बेहाल हुँदासमेत कसैले चासो नदिएको स्थानीय गजेन्द्र दङ्गालले बताए ।
उर्लाबारी–मधुमल्ला–तोरीबारी १२ दशमलव ४ किलोमिटर सडक कालोपात्रेसहित निर्माणका लागि सरकारले ०६८ फागुनमा टेन्डर आह्वान गरेको थियो । ०६९ जेठ ४ गते ३ वर्षमा निर्माण सम्पन्न गर्ने गरी काठमाडौंको प्रेरा–ज्योति जेभीले ठेक्का लिएको थियो । ८ करोड ९४ लाख रुपैयाँमा ठेक्का लागेको थियो ।
उर्लाबारी–मधुमल्ला–तोरीबारी सडक निर्माण पहल तथा दबाब समितिका संयोजक मानबहादुर श्रेष्ठले एकै समयमा काम नगरेकाले निर्माण गरेको सडक पनि गुणस्तरहीन बनेर सडकभर खाल्डैखाल्डा बनेको बताए । उक्त सडकमा गुणस्तर कम भएको तथा निर्धारित मितिमा सडक निर्माण नभएको भन्दै सम्बन्धित निकायमा सयौं पटक ताकेता गरेको संयोजक श्रेष्ठले बताए ।
धेरै महिनासम्म काम रोकेपछि ठेक्का सम्झौता भएकै वर्ष ०६९ मा उर्लाबारी र मधुमल्लावासीले दबाबमूलक कार्यक्रम गरेका थिए । उनीहरूले ठेकेदारले सडक बनाउने भन्दै भत्काएर काम शुरु नगरेको भन्दै ०६९ माघ २१ मा रिले अनशन शुरु गरेका थिए ।