बेलबारीः झरी पर्दा गाउँका सडक धुलाम्मे हुने र पानी पर्दा हिलाम्मे हुन्छन् भन्ने धेरैलाई लाग्छ । गाउँका सडक भन्नासाथ धेरै खाल्डाखुल्डी हुन्छन् भन्ने बुझाइ पनि धेरैमा छ । ठूला, चिल्ला सडक बजारमा मात्रै हुन्छन् भन्ने मान्यता अहिलेसम्म पनि रहिरहेको छ । तर मोरङमा भने यसको ठीक विपरीत देखिन्छ ।
मुख्य शहरका सडकमा खाल्डाखुल्डी परेका कारण हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने गरेका छन् । तर गाउँका सडक बजारका भन्दा चिल्ला देखिन थालेका छन् । गाउँका कुनाकुनामा सडकको स्तरोन्नति हुनुका साथै कालोपत्रे भइरहेको छ ।
लामो समयसम्म काम नभएको कानेपोखरी–रङ्गेली सडक खण्ड समेत कालोपत्रे भइरहेको छ । सो सडक अहिले पूर्वपश्चिम राजमार्गभन्दा राम्रो देखिएको छ । ठेकेदारको लापरवाहीका कारण पटकपटक अलपत्र बनेको यो सडक जनप्रतिनिधि आएपछि कालोपत्रे भएको हो ।
केही समयअघि बेलबारीको १० नम्बर वडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकालले विदेश गएका छोराहरू आफ्नो गाउँ फर्किदा घर नचिन्ने बताएका थिए । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले सो सडक नगरकै नमूना सडक बनाइने बताएका थिए ।
अहिले सो सडक ड्रेन निर्माणसहित कालोपत्रे हुँदैछ । ‘घाम लागेको समयमा धुलोले हिँडडुल गर्न गाह्रो हुने अनि पानी पर्दा हिलोले सवारी साधन र यात्रु नै चिन्न गाह्रो हुने अवस्था थियो’, बेलबारी–१० का कृष्ण गौतमले भने, ‘कालोपत्रे भएपछि गाउँमै सिंहदरबार आएको महसुस गरेका छौँ ।’ बेलबारी नगरपालिकालाई रङ्गेली नगरपालिका हुँदै विराटनगरसम्म जोड्ने मुख्य सडकका रूपमा यसलाई लिइएको छ ।
यस्तै बेलबारीको वडा नम्बर १ मा पनि लेटाङ जोड्ने सडक कालोपत्रे हुने तयारी अवस्थामा रहेको छ । डे«न निर्माण भइरहेको उक्त सडक कालोपत्रे भएसँगै लेटाङसँगको बेलबारीको सडक सम्बन्ध छोटो हुनेछ । अहिले बेलबारीबाट लेटाङ जान कानेपोखरी हँुदै जानुपर्ने बाध्यता छ । उक्त सडक कालापेत्रे भएपछि लेटाङ तथा बेलबारीका किसानले उत्पादन गरेको कृषिजन्य वस्तुले बजार पाउने प्रदेश सांसद उपेन्द्र घिमिरेले बताए ।
कालोपत्रे सडक गाउँमै पुगेपछि स्थानीय उत्पादनले राम्रो बजार पाउने स्थानीयको विश्वास रहेको छ । गाउँका पुराना बजार जोड्ने अधिकांश सडक कालोपत्रे गरिँदै छ ।