झापाः किरातहरूका आराध्य देवता सुम्निमा पारुहाङको मूर्ति शिवसताक्षीको झिलझिलेमा अनावरण गरिएको छ । किरात राई यायोख्खा शिवसताक्षीले २५ लाख रुपैयाँको लागतमा मूर्ति निर्माण गरी पूजाका लागि आइतबारबाट खुला गरेको हो ।
स्थानीय सरकार, किरात धर्मावलम्बी र वैदेशिक रोजगारमा रहेका नेपालीसमेतको सहयोगमा सो मूर्ति निर्माण सम्पन्न भएको किरात राई यायोख्खा शिवसताक्षीका कोषाध्यक्ष कुमार खालिङले बताए । सुम्निामा पारुहाङ राई समुदायका सृष्टिकर्ता हुन् ।
नेपालकै केही ठाउँमा पनि सुम्निमा पारुहाङको आधुनिक भेषभूषा भएको मूर्ति निर्माण भए पनि आदिमकालमा सुम्निमा पारुहाङ जसरी निर्वस्त्र थिए त्यसरी मूर्ति निर्माण नभएको खालिङले बताए । नेपालमा पहिलो पटक सुम्निमा पारुहाङको नग्न मूर्ति निर्माण भएको किरात राई यायोख्खा शिवसताक्षीले दाबी गरेको छ ।
शालिक निर्माणका लागि यायोख्खाले दिलीप बान्तवा राईको संयोजकत्वमा निर्माण समिति बनाएको थियो । सो समितिले ०७४ सालदेखि मन्दिर निर्माण शुरु गरेको हो । करिब एक साताअघि मात्र निर्माण सम्पन्न भएपछि झापा निर्वाचन क्षेत्र नम्बर ४ का सङ्घीय सांसद एलपी साँवा लिम्बूले मूर्तिको अनावरण गरेका हुन् । सो कार्यक्रममा प्रदेश सांसदद्वय झलकसिंह दर्लामी र हीरा थापालगायतले मूर्ति निर्माणले शिवसताक्षीको धार्मिक पर्यटकीय विकासमा थप टेवा मिल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा चर्चित गायिका मेलिना राईले आफ्नो प्रस्तुति दिएर मनोरञ्जन दिलाएकी थिइन् । यायोख्खा शिवसताक्षीका अध्यक्ष पर्शुराम रिङगालुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।