उर्लाबारीः काङ्ग्रेस नेता तथा पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलाले इञ्जिनबिनाको गाडीजस्तै काङ्ग्रेस बनेको बताए ।

काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत मङ्गलबार मोरङ क्षेत्र नं. १ को आयोजनामा उर्लाबारीमा आयोजित कार्यक्रममा नेता सिटौलाले सो कुरा बताएका हुन् । काङ्ग्रेसलाई चलायमान बनाउन देशभर जागरण अभियान चलाइरहेको उल्लेख गर्दै अब काङ्ग्रेस इञ्जिनबिनाको गाडी बन्न नहुने उनले बताए ।

मुलुकमा भएका हरेक आन्दोलनमा काङ्ग्रेसको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले काङ्ग्रेसलाई चलयमान र सक्रिय बनाउन कार्यकर्ताले नेतृत्वलाई खबरदारी गर्नुपर्नेमा जोड दिए । उनले पार्टी नेतृत्वले भातृ सङ्गठनहरूलाई राम्रोसँग परिचालन गर्न नसकेको बताए । तरुण दल, नेवि सङ्घ र महिला सङ्घ कुनै पनि भातृ सङ्गठनहरूले राम्रोसँग काम नगरिरहेको नेता सिटौलाको भनाइ छ ।

उनले पार्टीभित्र आपसी वैमनस्यता र कलह अन्त्य गर्न लाग्नुपर्ने आवश्यकता रहेको बताए । केन्द्रीकृत अधिकार प्रदेश हुँदै स्थानीय तहसम्म आएको उल्लेख गर्दै उनले त्यसका बारेमा खबरदारी गर्नुपर्नेमा जोड दिए । उनले वर्तमान सरकार जनताको नभई कम्युनिष्टको मात्र भएको दाबी गरेका छन् ।

कार्यक्रममा बोल्दै अधिकांश नेता तथा कार्यकर्ताले पार्टीमा मौलाएको गुटगत राजनीतिको अन्त्य नभएसम्म काङ्ग्रेस चलयमान बन्न नसक्ने बताए । कार्यक्रममा बोल्दै नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य सीता कार्कीले पार्टीमा गुटगत राजनीतिका कारण भातृ सङ्गठनहरू कमजोर बनिरहेको उल्लेख गर्दै नेतृत्वले समयमै ध्यान नदिने हो भने काङ्ग्रेस थप सङ्कटमा पर्न सक्ने खतरा रहेको बताइन् ।

नेताहरू नसच्चिएसम्म काङ्ग्रेसले गति लिन नसक्ने उनको भनाइ छ । त्यस्तै, उर्लाबारी–४ का कल्याण राईले गाउँगाउँमा काङ्ग्रेसको जागरण अभियान अघि बढाउनुपर्ने बताए । त्यस्तै, नेपाल विद्यार्थी सङ्घका उर्लाबारी बहुमुखी क्याम्पस कमिटीका सभापति सुजित जैसवाल र शीतल दाहालले नेपाल विद्यार्थी सङ्घलाई निस्क्रिय बनाउन पार्टीपङ्क्ति नै लागि परेको आरोप उनले लगाए । उनीहरूले पार्टीका भातृ सङ्गठनलाई सक्रिय बनाउन नेतृत्वले ध्यान दिनुपर्ने बताए ।

त्यस्तै, काङ्ग्रेसका महासमिति सदस्य ललित अधिकारी, शोभा पालुङ्वा, गीता खतिवडा, गोमा नेपाल, उमेश धिमाल, दीपेन्द्र धिमाल, सेमन्त दाहाल, भानुभक्त शर्मा पराजुलीलगायतले काङ्ग्रेस नेतृत्वले गुट–उपगुटमा नलागी जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न सुझाव दिए । कार्यक्रम काङ्ग्रेसका मोरङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति खड्ग फागोको सभापतित्वमा भएको थियो ।