लेटाङः मोरङको उत्तरी पहाडी लेटाङ नगरपालिकाको वारङ्गी समलामा बिजुली पुगेको छ । मोरङका बिजुली बिस्तारको क्रम शुरु भएको ३६ वर्षपछि सो गाउँमा बिजुली पुगेको हो ।

लेटाङ नगरपालिका वडा नम्बर ७ मा पर्ने सो गाउँमा विद्युत विस्तार योजनाअन्तर्गत ३१ लाख रुपैयाँ खर्च भएको छ । मङ्गलबार प्रदेश १ का सांसद उपेन्द्र घिमिरे, नेपाल विद्युत प्राधिकरण प्रदेश १ का प्रमुख सचिदानन्द यादव र लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले संयुक्त रूपमा स्वीच अन गरी गाउँमा पुगेको बिजुलीको उद्घाटन गरे ।

बिजुली पुगेपछि खुशी हुँदै उपभोक्ताले मोबाइल चार्ज गर्न लेटाङ पुगेर १ पटक चार्ज गरेको १० रुपैयाँ शुल्क तिर्नुपर्ने बाध्यता हटेको बताए । बिजुलीको विकल्पमा जडान भएका सौर्य बत्ती पानी पर्दा र हिउँदमा बन्द हुँदा स्थानीय मारमा पर्ने गरेका थिए ।

समलामा पहिलो चरणमा ३१ घरमा विद्युत वितरण गरिएको छ । दोस्रो चरणमा थप परिवार थप्ने योजना रहेको नेपाल विद्युत प्राधिकरण प्रदेश १ का प्रमुख सचिदानन्द यादवले बताए । २०७७ सालसम्ममा मोरङलाई पूर्ण बिजुलीयुक्त जिल्ला बनाउने योजना रहेको उनको भनाइ थियो ।

प्रदेश सांसद उपेन्द्र घिमिरेले वारङ्गी पिछडिएको अवस्थामा रहेकामा ग्रामीण भेगमा विद्युतीकरणलाई प्राथमिकता दिई आफूलेसमेत पहल गरिरहेको बताए । लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले मोरङका पहाडी भेग अहिले पनि विकासका दृष्टिले निकै पछि परेको बताइन् ।