बेलबारीः बेलबारी नगरपालिकाले एक आर्थिक वर्षमा १० हजार बेलका बिरुवा रोप्ने घोषणा गरेको छ । ४६ औँ विश्व वातावरण दिवसको अवसरमा सार्वजनिक जग्गामा बेलको बिरुवा रोप्दै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले सो कुरा बताएका हुन् ।
‘नगरपालिकाको पहिचान जोडिएको बेलबाट आम्दानीसमेत गर्न सकिँदो रहेछ’, मेयर सुवेदीले भने, ‘खोलामा तटबन्ध गरेर करिडोर बनाएर खोलाको छेउमा बेलको बिरुवा रोप्छौँ ।’ लोहोन्द्रा चिसाङ खोलामा आगामी आर्थिक वर्षमा तटबन्धन भई करिडोर बन्ने र आगामी आर्थिक वर्षमा १० हजार बिरुवा रोपिने उनले बताए ।
पातबाट पनि आम्दानी हुने, फलबाट पनि आम्दानी हुने भएकाले बेलबारीको पहिचान र समृद्धिका लागि बेल उपयुक्त हुने उनको भनाइ थियो । ‘स्वास्थ्य वायु, स्वास्थ्य जीवन’ भन्ने मूल नाराका साथ मनाइएको वातावरण दिवसकै दिन नगरपालिकाले पशुहटिया छेउ बेलका बिरुवा रोपेको हो ।
पहिले बेलको घारी भएकै कारण बेलबारी नाम रहेको बुढापाकाको भनाइ रहेको छ । तर अहिले बेलबारीमा बेलको रुख पाउनै गाह्रो भएकाले बेलबारीको पहिचान जोगाउन बेल रोपिने उनले बताए ।
प्रत्येक वर्ष बिरुवा रोप्ने क्रम थप्दै जाने बताउँदै सामुदायिक बनका खालि जग्गामा समेत बेलका बिरुवा रोप्न उनले आग्रह गरे ।
वैज्ञानिक वनमा सालको रुखलाई मात्रै प्राथमिकतामा राखिने गरेको अमना सिसौली सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष लीलाप्रसाद आचार्यले बताए । ‘सालबाट ७० वर्षमा मात्रै आम्दानी लिन सकिन्छ’, आचार्यले भने, ‘बेलको बिरुवाबाट ४ वर्षदेखि नै आम्दानी लिन सकिँदो रहेछ ।’ उनले बन क्षेत्रमा चालु आर्थिक वर्षमा ५ सय र आगामी आर्थिक वर्षमा १ हजार बिरुवा रोप्ने समेत बताए । बाँझो जग्गामा प्रत्येक वर्ष बेलका बिरुवा थप्दै जाने उनको भनाइ थियो ।
बेललाई बहुआयमिक बिरुवाको रूपमा लिन सकिने सेक्टर बन कार्यालय बेलबारीका प्रमुख शत्रुधनलाल देवले बताए ।