इटहरीः इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले आफ्नो विरुद्ध समाचार लेखेको भन्दै पत्रकार विराट अनुपमसहित समग्र पत्रकारिता क्षेत्रलाई दिएको धम्की र गालीगलौजको घटनाप्रति नेपाल पत्रकार महासङ्घ प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
यसअघि पत्रकार कृष्ण वहाब भट्टराई र विकल रेग्मीमाथि दुव्र्यवहार गरेको विषयमा आफूबाट कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा त्यस्तो गतिविधि नगर्ने प्रतिबद्धता गरेका थिए । प्रमुख चौधरीले सामाजिक सञ्जालमा निरन्तर पत्रकारका विरुद्ध पोष्ट गरेको, पत्रकार अनुपमलाई फोनमार्फत् ज्यान मार्ने आशयको धम्की दिएको र टेलिभिजन अन्तरवार्तामा समेत दिएको धम्की आपत्तिजनक र खेदजनक रहेको बताइएको छ ।
जेठ २१ गते पत्रकार अनुपमसँग टेलिफोनमा भएको कुराकानीका क्रममा मेयर चौधरीले ‘तिम्रो नाक भाँच्न एक करोड छुट्याएको छु’, ‘तिम्रो विरुद्धमा सुपारी दिइसकेको छु सुरक्षा खोज’भन्दै धम्की दिएका थिए । सोही विषयमा न्युज २४ टेलिभिजनमा दिएको अन्तर्वार्तामा ‘म संविधान र कानुन मान्दिनँ, इटहरीमा मेरो शासन चल्छ, मेरो विरुद्ध लेख्नेलाई कालोमोसो दलेर टिन ठटाएर बजार घुमाउँछु, निर्धाले मात्रै कानुन र पुलिसकोमा जाने हो, कानुन नमाने पनि नेपालमा केही हुदैन’ जस्ता अत्यन्तै अस्वभाविक, अराजक, उदण्ड, गैरकानुनी र अमर्यादित अभिव्यक्ति दिएको उनको भनाइ छ । भ्रष्टाचारको विरोधको आवरणमा उनका अराजक हर्कत र अभिव्यक्तिले थप उत्तेजना फैलाउने काम गरिरहेको महासङ्घले विज्ञप्तीमा जनाएको छ । राज्यको जिम्मेवार निकायका जिम्मेवार व्यक्तिबाट पत्रकारलाई यसरी खुला रूपमा धम्की दिएको घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हुनुका साथै प्रचलित कानुनको समेत उपहास भएको महासङ्घको ठहर भएको विज्ञप्तीमा जनाइएको छ ।
प्रमुख चौधरीको यस्तो हर्कतले पत्रकार अनुपम असुरक्षित महसुस गरी इटहरीबाट विस्थापित हुने अवस्थामा पुगेका र समग्र पत्रकारले समेत असुरक्षित महसुस गरेको जनाइएको छ । सार्वजनिक पदमा बसेर धाकधम्की दिने मेयरलाई कारबाहीसहित प्रेस स्वतन्त्रताको सम्मान गर्न एवं पत्रकारलाई निर्वाध र स्वतन्त्र रूपमा काम गर्न वातावरण बनाउन तिनै तहका सरकारको ध्यानाकर्षण गराउँदछौँ ।
नेकपाका प्रदेश कमिटी सदस्यसमेत रहेका चौधरी यस्तो अशोभनीय हर्कतबारे पार्टीको आधिकारिक धारणा माग गर्दै ध्यानाकर्षण गराउन चाहन्छौं । आम पत्रकारमा मर्यादित र सुरक्षित भएर पत्रकारितामा सक्रिय रहन पनि विज्ञप्तीमा आह्वान गरिएको छ ।
त्यस्तै, जेठ २१ गते राती महासङ्घ धनकुटा शाखाका सदस्य दिलबहादुर (आशिष) राईलाई एक समूहले धरानस्थित डीबीआर अनलाइन टेलिभिजनको कार्यालयमा काम गरिरहेको अवस्थामा कुटपिट गरी घाइते बनाएको हुनाले घटनामा संलग्नको तत्काल पहिचान गरी कानुनी कार्वाही गर्न माग गरिएको छ ।
सङ्घको प्रदेश समितिका महासचिव विवेक गौतमद्वारा हस्ताक्षरित विज्ञप्तीमा पत्रकार राईको उपचारको सबै व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरिएको छ ।