इटहरीः नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाले इटहरी उपमहानगरपालिकाका कुनै पनि कार्यक्रममा नजाने निर्णय गरेको छ । आज बसेको महासङ्घ शाखाको बैठकले सुनसरीमा पत्रकार राज्य पक्षबाटै असुरक्षित हुने वातावरण सिर्जना भएको भन्दै नगरकार्यपालिकाको औपचारिक धारणाको मागसहित कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको अध्यक्ष अमर खड्काले जानकारी दिएका छन् ।

मेयर द्वारिकलाल चौधरीबाट बारम्बार पत्रकारमाथि भएका आक्रमणको निन्दा गर्दै जनतालाई सुसूचित गर्ने वर्गप्रति लक्षित गर्दै दोहोरिइरहेका गलत क्रियाकलापले पत्रकार असुरक्षित भएको महासङ्घको ठहर रहेको खड्काले जानकारी दिए ।

यस बारेमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय सुनसरीमा पुुगेर समेत महासङ्घले गम्भीर ध्यानाकर्षण गराएको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ प्रदेश १ का अध्यक्ष विक्रम लुुइँटेलले सञ्चारमाध्यममा आएका मेयर चौधरीका भनाइमा प्रेस जगतलाई हेर्ने दृष्टिकोण नै गलत रहेको टिप्पणी गरेका छन् । समग्र पत्रकारिता जगत, अदालत र सिङ्गो पार्टीप्रति चौधरीले व्यक्त गरेका धारणाले गम्भीर प्रश्न उठाएको भन्दै आपत्ति प्रकट गरिएको छ । उनले पत्रकारलाई नियमित समाचार सङ्कलनमा जान भयको वातावरण बनेको भन्दै यसले जनताको सही सूचना प्राप्त गर्ने हकसमेत खोसिने चिन्ता व्यक्त गरे ।

गलत रवैयाप्रति महासङ्घ निरन्तर सङ्घर्षमा जुट्ने भन्दै कुनै सरकार कानुनले कस्ने र कुनै सरकार भौतिक आक्रमणमा उत्रिने कुराले पत्रकार पेशा असुरक्षित बन्दै गएको आभास भएको विचार व्यक्त गरे ।