धरानः धरान उपमहानगरपालिकाले डेङ्गु प्रकोप नियन्त्रण गर्न जनपरिचालन गर्ने भएको छ । उपमहानगरले जनपरिचालन गर्ने भन्दै बुधबार धरानमा र्याली पनि निकालेको छ ।

धरानमा डेङ्गुको प्रकोपले महामारीको रूप लिन सक्ने देखिएपछि धरानमा जनपरिचालन शुरु गरिएको हो । धरान उपमहानगरपालिकाले विश्व वातावरण दिवसको अवसर पारेर बुधबार बिहानै र्याली निकालेको थियो ।

र्याली छाताचोक, भानुचोक हँुदै बरगाछीसम्म पुगेको थियो । र्यालीकै क्रममा सडक छेउमा राखिएका टायर तथा पानीका ट्याङ्कीहरू पनि निरीक्षण गरिएको थियो । र्यापिड रेस्पोन्स टिमका संयोजक एवम् बीपी प्रतिष्ठानका डाक्टर विजयकुमार खनालका अनुसार स्थानीय आफैँ सचेत नभएसम्म रोग नियन्त्रण गर्न असहज हुन्छ । उनले सर्वसाधारणलाई डेङ्गुका बारेमा जानकारी लिएर सतर्कता अपनाउन आग्रह गरे ।

धरानमा बैशाख ३१ गतेदेखि नै डेङ्गुका बिरामी देखिन थालेका थिए । धरानमा डेङ्गुका बिरामीको सङ्ख्या झण्डै २ सय जना पुग्न लागेको छ । प्रतिष्ठानले डेङ्गुका सङ्क्रमितहरूलाई उपचार गर्न विज्ञ डाक्टरको टिमलाई हाइ अलर्टमा राखेको बताएको छ ।