बेलबारीः बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी, उपमेयर तारा पराजुली र प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार शाहले डस्बिनमा प्लाष्टिकका झोला हाल्दै नगरपालिकालाई प्लाष्टिकको झोलामुक्त नगर घोषणा गरेका छन् ।

बेलबारी नगरपालिकालाई बुधबारदेखि प्लाष्टिकमुक्त नगर घोषणा गरिएको हो । सफा र स्वच्छ नगरको परिकल्पना गर्नका लागि प्लाष्टिक झोलामुक्त नगर घोषणा गरिएको मेयर सुवेदीले बताएका छन् । जेठ २२ गते विश्व वातावरण दिवसको अवसर पारेर नगरपालिकाले प्लाष्टिकका झोला नगर क्षेत्रबाट विस्थापित गरिएको बताएको छ ।

नगरपालिका क्षेत्रमा प्लाष्टिकको झोेला किनबेच गर्न नपाइने नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले बताए । प्रत्येक वडामा नगरपालिकाले प्लाष्टिकको झोलाका बेफाइदाका बारेमा जानकारी गराएपछि प्लाष्टिकको झोलामुक्त नगर घोषणा गरिएको समेत उनले बताए ।

‘प्लाष्टिक होइन विकल्प खोजौँ, प्रदुषण होइन स्वच्छता रोजौँ’ भन्ने नारा नै दिएर नगरपालिकाले प्लाष्टिकको झोला प्रतिबन्ध गरेको हो । प्लाष्टिकमुक्त नगर घोषणा गर्नका लागि नगरपालिकाले २०७५ चैत १० गते देखि नै कार्यालय परिसरमा बोतलको पानी प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।

अब नगरभित्र प्लाष्टिकका झोला किनबेच गरेको पाइएमा तत्कालै कार्वाही गरिनेसमेत नगरपालिकाले जनाएको छ ।