इटहरीः इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी नसच्चिए कडा आन्दोलन गर्ने चेतावनी नेपाली काङ्ग्रेसले दिएको छ । केही दिन अगाडि पत्रकार विराट अनुपमलाई नाकको डाँँडी भाँच्न १ करोड छुट्याएको धम्की दिएका मेयरप्रति काङ्ग्रेस खरो रूपमा प्रस्तुत भएको हो ।

नेपाली काङ्ग्रेस इटहरी नगर समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै मेयर चौधरीलाई सच्चिन आग्रह गरेको हो । काङ्ग्रेसले जारी गरेको प्रेस विज्ञप्तीमा काङ्ग्रेस विधिको शासन र प्रेस स्वतन्त्रताको पक्षमा रहेकाले पत्रकारमाथि भएको अपमानको घोर भत्सर्ना गर्दछ भनिएको छ ।

कसैलाई अङ्गभङ्ग गराउन एक करोड खर्च गर्ने तथा अदालत र प्रहरी कमजोरको लागि हुन् भन्दै चेतावनी दिने मेयर चौधरीको अभिव्यक्ति संविधानविपरीत रहेको काङ्ग्रेसको ठहर छ ।

आफ्नो कार्यालयभित्र पत्रकारलाई लोपार्ने र कर्मचारी कुट्नेजस्ता कार्य भइरहेकाले यो अत्यन्तै निन्दनीय कार्य भएको इटहरी काङ्ग्रेसको बुझाइ छ ।

मेयरले खानेपानी अध्यक्ष रामप्रसाद चौलागाईंलाई लगाएको भ्रष्टाचार आरोपको पनि छानबिन हुनुपर्ने काङ्ग्रेसको माग छ ।

nc