इटहरीः इटहरीका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई दिएको धम्की र त्यसपछि उत्पन्न परिस्थितिको बारेमा अध्ययन गरी सत्यतथ्य बाहिर ल्याउन नेपाल पत्रकार महासङ्घ प्रदेश समितिले ४ सदस्यीय मिसन टोली गठन गरेको छ ।

महासङ्घको प्रदेश समितिले आज जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएअनुसार महासङ्घका पूर्व केन्द्रीय सदस्य मोहनकाजी न्यौपानेको अध्यक्षतामा टोली गठन गरिएको हो । सो टोलीको सदस्यमा महासङ्घका पूर्व केन्द्रीय सदस्य गणेश लम्साल, सुनसरी शाखाका अध्यक्ष अमर खड्का र प्रदेश सदस्य जयकृष्ण यादव रहेका छन् ।

प्रदेश समितिका महासचिव विवेक गौतमको हस्ताक्षरमा जारी विज्ञप्तीमा घटनापछि पत्रकार विराट अनुपम विस्थापित हुने अवस्थामा पुगेकाले उनको सुरक्षा र संरक्षण गरिने जनाइएको छ ।

त्यस्तै, मेयर चौधरीले भ्रष्टाचारको विरोध उत्पन्न घटना र पीत पत्रकारिता भनी घटनालाई विषयान्तर गरेका र सामाजिक सञ्जालमा त्यस्तै टिप्पणी आइरहेकोमा हालसम्मको अध्ययनमा त्यस्तो नपाइएको महासङ्घको भनाइ छ । घटनबारे प्रतिक्रिया दिँदा तथ्यमा आधारित रहेर दिन पनि महासङ्घले सबैलाई अनुरोध गरेको छ ।

नेकपाका प्रदेश कमिटी सदस्य रहेका मेयर चौधरीले आफ्नो अभिव्यक्तिमा पार्टीको नाम समेत जोडिरहेकाले यस बारेमा नेकपाको स्पष्ट धारणा बाहिर ल्याउन पनि महासङ्घले माग गरेको छ ।

दुव्र्यवहारको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै प्रेस स्वतन्त्रताको सम्मान गर्न र स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने वातावरण निर्माण गर्न पनि महासङ्घले विज्ञप्तीमा माग गरेको छ ।