धरानः धरान उपमहानगरपालिकाले स्वर्गीय मेयर तारा सुब्बाको स्मृतिमा ग्रन्थ प्रकाशन गर्ने भएको छ ।

उपमहानगरले ग्रन्थ प्रकाशनका लागि प्राध्यापक डाक्टर भीम खतिवडाको संयोजकत्वमा समिति बनाएको छ । समितिले अहिले तारा सुब्बाका विषयमा लेखिएका र लेख्न सकिने सामग्रीहरूको सङ्कलन शुरु गरेको संयोजक खतिवडाले जानकारी दिए । समितिले सुब्बाको बारे आफूसँग भएका सूचना, दुर्लभ छायाचित्रहरू, विशेष जानकारीहरू तथा उनका सम्झनामा लेखिएका साहित्यिक रचनाहरूसहित उनको स्मृतिलाई जीवन्त बनाउने अभियानमा सहभागी हुन आह्वान गरेको छ ।

०७६ साउन १ गते मेयर सुब्बाको स्मृतिग्रन्थ सार्वजनिक गरिने र उक्त ग्रन्थमा उनको जीवनी र व्यक्तित्वका आयामहरूको प्रकाशनका साथै राजनीति, समाजसेवा, जातीय जागरणमा योगदानजस्ता सबै सन्दर्भ समेटिने तारा सुब्बा स्मृति ग्रन्थ सम्पादन समितिका संयोजक प्रा. डा भीम खतिवडाले जानकारी दिए ।