धरानः धरान उपमहानगरपालिकाले वडा नं १५ र ८ लाई डेङ्गु सङ्कटग्रस्त वडा घोषणा गरेको छ । १ नं प्रदेशको सामाजिक विकास समितिसँगै डेङ्गुबारे स्थलगत अध्ययनका लागि धरान आएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक भोगेन्द्र डोटेलले सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सुझाव दिएपछि उपमहानगरले बिहीबार नै सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
ती वडामा अत्यधिक मात्रामा डेङ्गु ज्वरोका बिरामी भेटिएको र नियन्त्रणबाहिर गएकाले सङ्कटग्रस्त वडा घोषणा गरिएको उपमहानगरपालिकाले जानाएको छ ।
उपमहानगरपालिकाका अनुसार अब वडाहरूमा समिति बनाएर घरदैलो अभियान चलाउने तयारी भइरहेको छ । त्यसका लागि उपमहानगरपालिकाले वडा कार्यालयहरूलाई पत्राचार गरिसकेको छ ।
सामाजिक विकास समितिले बिहीबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गएर प्रशासन र चिकित्सकहरूसँग डेंगु ज्वरो र बिरामीहरूको अवस्थाबारे बुझेको थियो । समितिले इमर्जेन्सीमा उपचाररत बिरामीहरूलाई पनि भेटेको थियो ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवका अनुसार अहिले धरानमा डेङ्गुबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या १ सय ६३ पुगेको छ । उपमहानगरपालिकाले डेङ्गु नियन्त्रण गर्न सचेतनाका कार्यक्रमहरू गरिरहेको पनि उनले जानकारी दिए ।