सङ्खुवासभाः सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–३ ताम्को साप्तेल र याचम्खा टोलका २१ घरपरिवार पहिरोको उच्च जोखिममा रहेका छन् । वर्षायाम शुरु भएसँगै उनीहरूको जाग्रम बस्ने समय पनि शुरु हुन्छ ।

गत वर्षको असोजमा सिलिचोङ गाउँपालिका–३ ताम्कु, साप्तेल र याचम्खा टोलका २१ घर विस्थापित भएका थिए । विस्थापित भएकाहरूलाई सुरक्षित स्थानमा पुनस्र्थापना गर्न आवश्यक रहेको भए पनि आवश्यक बजेट नहुँदा पुनः सोही स्थानमा बसाउनुपरेको सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले बताए ।
‘गड्याङगुडुङ गरेर आकाश कालो हुन थालेसँगै पहिरोले गाउँ नै तान्ने डर सुरु हुन थाल्छ,’ साप्तेलका अगमबहादुर कुलुङ भन्छन्, ‘अझ बर्खाको समयमा त जतिखेरै पहिरोले तान्ने डर हुन्छ । पानी पर्नासाथ जाग्राम नै बस्नुपर्छ ।’
उनीमात्र होइन साप्तेलवासी सबैको समस्या उस्तै छ । गाउँको पुछारबाट पहिरो शुरु भएको १० वर्ष भएको छ । केही वर्ष यता हिउँदको सयमा समेत सुख्खा पहिरो जाने गरेको छ । सोही पहिरोले करिब ८ वर्ष अघि १ जनाको ज्यान लिएको थियो ।
‘गाउँ नै चिराचिरा भएको छ, हिउँदमा त जसोतसो बस्छौं वर्षायाममा त बस्नै डरमर्दो छ’, याचम्खाका दीपेन्द्र कुलुङले भन्छन्, ‘आफ्नो घर छाडेर जानलाई अन्यत्र जग्गा छैन । उचित वासस्थानका लागि स्थानीय सरकाले पनि केही गर्न सकेको छैन ।’ साप्तले र याचम्खा गाउँमा कोदो, मकै र अलैंची खेती मात्रै हुने गरेको छ ।

२०६६ साल साउनमा छिमेकी गाउँ सिकिदिममा पहिरो जाँदा १३ जनाको मृत्यु भएको थियो । पहिरोमा परेका अधिकांशको शव फेला परेन । सो पहिरोबाट विस्थापित ६२ परिवारलाई सिलिचोङ–३ मानेटारमा राखिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति सङ्खुवासभाले जिल्लाका १० वटै स्थानीय तहलाई पहिरोको उच्च जोखिममा राखेको छ । समितिको २ वर्ष अघिको तथ्याङ्कअनुसार पहिरोको उच्च जोखिममा २ सय ७० परिवारका १ हजार ६ सय जना रहेको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए ।

वर्षाको समय शुरु भएकाले केही दिनमा नै समितिको बैठक बसी उच्च जोखिमका ठाउँ पहिचान गर्न १० स्थानीय तहका प्रमुखहरूलाई बोलाउने घिमिरेले बताए । बैठकमार्फत् सकरी सतर्कता अपनाउने भन्ने कार्ययोजना तयार गर्ने बताइएको छ ।
जिल्लामा ३२ वर्षमा भएका ३५ वटा पहिरोमा परी ७९ जनाको मृत्यु भएको घिमिरेको भनाइ छ । त्यसैगरी बाढीका कारण जिल्लामा ३२ वर्ष यता ९ जनाको मृत्यु भएको जनाइएको छ ।

२०७२ जेठमा बाढी तथा पहिरोबाट प्रभावितलाई मकालुको पावाखोला काङदुवाबाट पाथीभराको सीमामा नेपाली सेनाको हेलिकप्टरबाट ३८ जनालाई उद्दार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको थियो । पुन उनीहरू सोही स्थानमा बसोबास गरिरहेका छन् । उच्च जोखिममा रहेकाहरूको विपद्को समय उद्दार गरिए पनि सामान्य अवस्था हुनासाथ उनीहरू सोही स्थानमा फर्कनुपर्ने बाध्यता रहेको छ ।
..................