विराटनगरः प्रदेश एक सरकारले हिजो संसदमा पेस गरेको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षीको रूपमा रहेको नेपाली काङ्ग्रेसले तीव्र आलोचना गरेको छ । पुराना कार्यक्रमलाई समेटेर ल्याइएको नीति कार्यक्रमबारे नारै नारा भएको पपुलिस्ट कार्यक्रम भनी टिप्पणी गरेको हो ।

प्रदेश एक संसदीय दलका नेता राजीव कोइरालाले उपन्यास जस्तो भएको तर्क गरेका छन् । अघिल्लो सालको नीति तथा कार्यक्रमको कार्यान्वयको पक्षलाई हेरेर यो कत्तिको कार्यान्वयन हुन्छ भन्ने कुरामा प्रश्न उठेको तर्क गरेका छन् । एकलौटी हिसाबले कार्यकर्तालाई पैसा दिने काम भएको भन्दै सरकारका कार्यक्रम परिणाममुखी बन्न नसकेको प्रतिक्रिया दिएका छन् ।

सरकार गठन भएको १५ महिना भन्दा बढी भइसक्दा पनि सरकारले मन्त्रीपरिषद् गठन गर्न नसक्दा अझै कर्मचारीको भरमा मन्त्रालय चलेको भन्दै कर्मचारीको मनोमानी चलेको कोइरालाले बताए । उनले बजेट चालु आर्थिक  वर्षकाे बजेट खर्च बढ्न नसकेर पैसा डम्प भएकाे भन्दै खर्च गर्न सामर्थ्यले भ्याउने मात्र याेजना ल्याइनुपर्ने उल्लेख गरे ।

तयस्तै संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले सरकारकले ल्याएको नीति तथा कार्यक्रम शब्दको जलप मात्र भएको बताए । केन्द्र सरकारको नीति कार्यक्रमलाई कपि पेस्ट गरिएको भन्दै कुनै आशालाग्दो र गर्व गर्न लायकका योजना प्रदेश एक सरकारले ल्याउन नसकेको कार्कीको टिप्पणी थियो ।

त्यस्तै समाजवादी पार्टी नेपालका प्रदेश एक संसदीय दलका नेता जयराम यादवले उत्साहजनक कार्यक्रम नभएको प्रतिक्रिया दिए । आफुुले सुझाव दिएका कार्यक्रम नअटाएको भन्दै उपलब्धिमूलक कार्यक्रम नरहेको बताएका हुन् । अघिल्लो कार्यक्रम जस्तै नारामै भरिएको कार्यक्रमलाई व्यवहारमुखी बनाउन चुनौती रहेको उनको तर्क थियो ।