झापाः नेपालकै बाटो भएर विदेशी पर्यटकलाई पूर्वी पहाडका धार्मिक एवम् पर्यटकीय क्षेत्र पुग्न सकिन्छ भन्ने सन्देश दिन भोलि शनिबारदेखि झापाको काँकरभिट्टाबाट मोटरसाइकल र्याली हुने भएको छ ।
काँकरभिट्टाबाट शुरु हुने र्याली २७ गते सोमबार साँझ इलामको सन्दकपुर पुग्ने छ । र्यालीमा नेपालसहित भारत र भुटानका गरी ३० जना सहभागी हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
‘हात्तीदेखि रेड पाण्डासम्म’ भन्ने उद्घोषका साथ हुने मोटरसाइकल र्यालीमा रेड पाण्डाको वासस्थानको संरक्षण र हात्ती हिँड्ने करिडोरको अवस्थाका बारेमा अध्ययन अवलोकन गरिने र्याली आयोजक मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन समितिका कार्यकारी निर्देशक केशव द्यौैरालीले जानकारी दिए ।
भारतको बाटो भएर पूर्वी पहाडी जिल्लाका पर्यटकीय स्थलमा अत्यधिक पर्यटक आउने भए पनि नेपालको बाटो प्रयोग गर्ने पर्यटकको सङ्ख्या न्यून रहेकाले पनि यो मोटरसाइकल यात्रामा नेपाली बाटोका बारेमा समेत प्रचारप्रसार गरिने द्यौरालीले बताए ।
इलामको सन्दकपुर जाने पर्यटक भारतीय बाटो प्रयोग गरेर अत्यधिक जाने गरेकाले सन्दकपुर जान नेपाली बाटो प्रयोग गराउने पनि यो यात्राको मुख्य उद्देश्य रहेको यात्राको सहजीकरण गरिरहेको ग्रीन जेनेरेशनका अध्यक्ष अर्जुन कार्कीले बताए ।
र्यालीका क्रममा टोलीले ठाउँठाउँमा नेपाली कला र संस्कृति झल्किने सांस्कृतिक कार्यक्रमसहित रेड पाण्डाको वासस्थानका बारेमा समेत स्थानीयसँग छलफल गर्ने बताइएको छ । र्यालीका सहभागीलाई झापा तथा इलाम जिल्लाका स्थानीय तहले खाना र वासस्थानको सुविधा उपलब्ध गराउने भएका छन् ।
सरकारले सन् २०२० लाई भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेर नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सरकारको उक्त लक्ष्य प्राप्तिका लागि पनि यो मोटरसाइकल यात्राले सहयोग पुर्याउने कार्यकारी निर्देशक द्यौरालीले बताए ।