बेलबारीः बेलबारी–१० का रनबहादुर खड्का ६५ वर्ष पुगे । उनलाई डेङ्गु रोगबारे अघिल्ला वर्षमा थाहा थिएन । अहिले डेङ्गु फैलिइरहेको थाहा पाएका उनी बेलबारी नगरपालिकाले यही रोगको बारेमा चेतना जगाउन गर्न लागेको अन्तरक्रियामा सहभागी हुन आए ।
‘धरानमा डेङ्गुका रोगी बढे भन्ने सुनेको छु’ उनले भने, ‘यो रोग कसरी र कति उमेरकालाई लाग्छ भन्दै चासो दिइरहेको समयमा यसैसम्बन्धी कार्यक्रम हुन लागेको थाहा पाएर आएँ ।’
बेलबारी नगारपालिकाका स्वास्थ्य संयोजक सन्तोष विश्वकर्माले डेङ्गु ज्वरो एडिस एजिप्टाई जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक सरुवा रोग भएको बताए । विश्वर्काले सफा पानी जमेको स्थानमा यो जातको लामखुट्टेले फुल पार्ने भएकाले फ्रिज, पूजाका सामग्री, पुराना टायर, गमला र पानीका ट्याङ्की सफा गर्न सुझाव दिए ।
अधिकांश नगरवासीमा यो रोगका बारेमा सामान्य ज्ञान समेत नभएकाले नगरपालिकाले चासो दिएर टोलटोलमा सचेत गराउन थालेको छ । ‘डेङ्गु लागिहाल्यो भने मरिन्छ होला होइन’ भन्दै आफूलाई सोध्ने गरेको शिक्षक कृष्ण गौतमले बताए ।
रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम भएकाले टोलटोलमा चेतनामूलक कार्यक्रम गरिरहेको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । नगरपालिकाले लामखुट्टे मार्न विषादी छिट्न शुरु गरेको छ ।