उर्लाबारीः मोरङको उर्लाबारी–५ मा भएको निःशुल्क योग शिविर शनिबार सम्पन्न भएको छ । उर्लाबारी नगरपालिका वडा नं. ५ को आयोजना तथा पतञ्जली योग नगर समिति उर्लाबारीको व्यवस्थापनमा सो शिविर भएको हो ।

शिविरमा १ सय जनाको सहभागिता रहेको थियो । शिविरमा लक्ष्मी काफ्ले, धु्रव पाख्रिन, सुधा पौडेल, कुमारी तामाङ, शिल्पा प्याकुरेल र रुद्र ओलीले सहजीकरण गरेको योग अभियन्ता रुद्र तामाङले जानकारी दिए । स्वस्थ, सभ्य र समृद्ध उर्लाबारी बनाउने अभियानअन्तर्गत उर्लाबारीमा योग शिविर सञ्चालन गरिएको उनले बताए ।

शिविर समापन कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ५ का अध्यक्ष भानुभक्त शर्मा पराजुलीले उर्लाबारीलाई योगमय नगर बनाउनुपर्नेमा जोड दिए । ‘स्वास्थ्यको हिसाबले योग अत्यन्त महत्त्वपूर्ण छ’, उनले भने, ‘नगरभरी योग शिविर विस्तार गर्न आवश्यक छ ।’

योग अभियन्ता मणिलाल श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा योग नगर समिति उर्लाबारीका अध्यक्ष केदार रिजाल, अभियन्ता जयधर्म आचार्य, सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेत, उर्लाबारी–५ की सदस्य देवीकला राईलगायतको उपस्थिति रहेको थियो । सो वडामा आकाश पोद्दारको संयोजकत्वमा पतञ्जली योग वडा समिति गठन भएको छ ।