उर्लाबारीः मोरङको लेटाङ नगरपालिकाको वडा नं. १, ६ र ९ मा पर्ने चुरे क्षेत्रबाट गैरकानुनी रूपमा ढुङ्गागिटी अत्यधिक उत्खनन् भएपछि स्थानीयवासीले खोला ठेक्का नलगाउन माग गरेका छन् ।

चुरे क्षेत्रबाट मापदण्डविपरीत अत्यधिक उत्खनन भएपछि स्थानीयवासीले सो माग गरेका हुन् । कानुनअनुसार चुरे क्षेत्रबाट ठूला मेसिन लगाएर उत्खनन गर्न पाइँदैन । तर, चिसाङ खोलामा रहेका क्रसर उद्योगले आधा दर्जन बढी स्काभेटर प्रयोग गरी उत्खनन नरोकेपछि स्थानीयले शुक्रबार विरोध प्रदर्शन गरेका थिए ।

स्थानीयवासीले चुरे दोहन नरोके जेसीभी, स्काभेटर र ट्रिपरमा आगजनी गर्ने चेतावनी दिँदै चिसाङ खोलामा पुगेका थिए । उनीहरूले पटक पटक आवाज उठाउँदा पनि सरकारी तवरबाट चुरे दोहन रोक्न कुनै पहल नभएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

प्राकृतिक स्रोतको चरम दोहनले मानव बस्तीमा ठूलो असर पु¥याएको प्राकृतिक स्रोत तथा वातावरण संरक्षण समितिका अध्यक्ष रुद्रकुमार श्रेष्ठले बताए । उनले चुरे क्षेत्रमा अत्याधिक उत्खनन भएका कारण पैनी तथा खानेपानीका मुहान सुक्ने र पुल जोखिम पु¥याएको जानकारी दिए । उनले अब पनि खोला ठेक्का लगाउने हो भने उक्त क्षेत्रमा ठूलो समस्या उत्पन्न हुने खतरा रहेकाले समयमै सचेत भइदिन सरोकारवाला निकायको ध्यानाकर्षण गराए ।

चरम उत्खननका साथै मापदण्डविपरीत सञ्चालन भएका क्रसर उद्योगका कारण मानव बस्तीमा असर पुगे पनि जिल्ला समन्वय समिति र लेटाङ नगरपालिकाले चासो नदिएको स्थानीयको भनाइ छ ।

यस्तै, प्रदेश सांसद उपेन्द्र घिमिरेले चुरे दोहन रोक्न आगामी वर्षदेखि खोला ठेक्का लगाउन नहुने बताए । त्यस्तै, चुरे क्षेत्रमा अत्यधिक दोहन भएको भन्दै स्थानीयले आक्रोश पोखेपछि उत्खनन कार्य रोकिएको छ ।