उर्लाबारीः मोरङको उर्लाबारीमा रहेको सप्तकोशी आवासीय माध्यमिक विद्यालयले २६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
स्कुलले नर्सरीदेखि कक्षा १० सम्मका प्रत्येक कक्षाबाट २ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको हो । विद्यालयले शनिबार छात्रवृत्तिको लागि परीक्षा लिएको छ । १ सय ९९ जना विद्यार्थी छात्रवृत्तिका लागि सामेल भएका थिए । छात्रवृत्तिको लागि लिइएको परीक्षालाई निष्पक्ष र पारदर्शी बनाउन स्थानीय जनप्रतिनिधि, अभिभावक र सञ्चारकर्मीलाई बोलाएर परीक्षा अनुगमनसमेत गराइएको थियो ।
विद्यालयका संस्थापक प्रिन्सिपल लेखनाथ भट्टराईका अनुसार विद्यालय रहेको वडाबाट एक जना र अन्य वडा तथा छिमेकी गाउँपालिका वा नगरपालिकामध्येबाट एक जनालाई छात्रवृत्ति दिइने छ । नर्सरीदेखि कक्षा १० सम्मका २६ जना विद्यार्थीको मासिक शुल्क पूर्ण रूपमा निःशुल्क हुने उनको भनाइ छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयले उर्लाबारीमै पहिलो पटक प्रत्येक कक्षामा छात्रवृत्तिको व्यवस्था गरेको छ । छात्रवृत्ति परीक्षाबाट छनोट भएका विद्यार्थीसँग एक वर्षका लागि मात्र सम्झौता हुने र पुनः अर्को वर्ष प्रतिष्पर्धा गराइने विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष मिश्र वैजयन्तीले जानकारी दिइन् । विद्यालयले यसअघि नै कक्षा प्रथमलाई छात्रवृत्तिको व्यवस्था गर्दै आएको छ भने गरीब तथा विपन्न, दलित, अपाङ्गता भएका, द्वन्द्वपीडितलगायतलाई आंशिक वा पूर्ण छात्रवृत्ति प्रदान गरिरहेको जनाएको छ ।