इटहरीः प्रदेश १ मा जनशक्तिको अभावमा ट्राफिक व्यवस्थापनमा समस्या आएको प्रहरीले बताएको छ । सवारी साधनको चाप र सडक क्षेत्र बढे पनि ट्राफिक प्रहरीको जनशक्ति नबढ्दा काम गर्न समस्या भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीम दाहालले बताए ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीमा भर्खरै सरुवा भएर आएका प्रहरी उपरीक्षक दाहालले २०५२ सालदेखि अहिलेसम्म जनशक्ति बढ्न नसकेको बताए । त्यही बेलाको जनशक्तिबाट अहिले पनि काम गर्नुपर्ने बाध्यता रहेको उनले जानकारी दिए ।

सञ्चारकर्मीसँगको परिचयात्मक कार्यक्रममा उनले जनशक्ति अभाव रहेको बताउँदै त्यसको परिपूर्तिको लागि सरकारले पहल गरिदिनुपर्ने माग गरे । आफ्नो कार्यकालमा सरोकारवालाहरूसँग समन्वय गर्दै ट्राफिक व्यवस्थापनको कामलाई थप प्रभावकारी बनाउने उनले बताए ।

प्रदेश १ का विभिन्न स्थानमा राजमार्ग क्षेत्रमै हाटबजार लगाउने कार्य हुँदै आएको हुनाले राजमार्ग क्षेत्रबाट हाटबजार हटाउने अभियान थाल्ने समेत दाहालले जानकारी दिए । सडकमा लाग्ने हाटबजार र सडक अतिक्रमण गरेर गरिने व्यापारिक क्रियाकलापलाई रोक्न लागिपर्ने उनले बताए ।

ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार प्रदेश १ मा अघिल्लो आर्थिक वर्षको तुलनामा सवारी दुर्घटनामा ज्यान गुमाउने मानिसको सङ्ख्यामा कमी आएको देखिएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा १ हजार २ सय ७१ सवारी दुर्घटनामा परी ४ सय २४ जनाले ज्यान गुमाएका थिए । यस्तै, आर्थिक वर्ष ०७५÷०७६ मा १ सय ६ सवारी दुर्घटना हुँदा ३ सय ६ जनाले ज्यान गुमाएका छन् ।