धरान/ उपभोक्ताको मागबमोजिम खानेपानी आपूर्ति गर्न नसकेर चर्को आलोचना खेपिरहेको खानेपानी संस्थान धरान शाखाको पानीटंकीमा शुक्रबार दिउँसोदेखि खानेपानी आयोजनाको पानी जडान गरिएको छ ।

बुधबारै खानेपानी संस्थानको टंकी नजिकसम्म आयोजनाले बोरिङ गरेको पानी पु¥याए पनि दुवै निकायबीच शीतयुद्ध चलिरहेका कारण संस्थानले टंकीभित्र पानी जडान गर्न आयोजनालाई अनुमति दिएन । पानी वितरण गर्न नसकेर चर्को जनदबाब खेपिरहेको संस्थानलाई थप दबाब दिन बिहीबार राजनीतिक नेतृत्व पुगेपछि संस्थान आयोजनाको पानी वितरण गर्न बाध्य भएको हो ।

केन्द्रीय कार्यालयको स्वीकृति मिलेपछि संस्थानको धरान शाखाले आयोजनालाई आफ्नो टंकीमा पानी खसाल्न अनुमति दिएको थियो । शुक्रबार बिहानैदेखि पाइप जडान गर्न खटिएको आयोजनाले दिउँसो पौने ४ बजेतिर संस्थानको टंकीमा पानी खसालेको आयोजना प्रमुख राजु पोख्रेलले बताए । उनले भने, ‘संस्थानले पाइप जडान गर्न स्वीकृति दिँदै पानी आपूर्तिको माग गरेपछि टंकीमा पानी खसालेका छौं, यसले धरानबासीलाई केही मात्रामा भए पनि राहत दिने आशा गरेका छौं ।’

संस्थानको कार्यालय हातामा ३० लाख लिटर क्षमताको पानीटंकी छ । संस्थानको यही टंकीलाई आयोजनाको डिजाइनमा सुम्निमा सबसिस्टममा समावेश गरिएको छ । यो सबसिस्टममा नयाँ रिजर्ब वेयर बनाउनु नपरेकै कारण आयोजनाको पानी तत्काल उपभोक्तालाई वितरण गर्न सम्भव भएको हो । पिण्डेश्वर सबसिस्टमको रिजर्ब वेयरमा पनि पानी आपूर्ति भए पनि सफाइको काम भइरहेका कारण सो सिस्टमबाट पानी वितरण हुन भने अझै केही समय लाग्छ ।

पिण्डेश्वर सबसिस्टममा साढे ९ लाख लिटरको पानीटंकी क्षमता छ । सुम्निमा र पिण्डेश्वर सबसिस्टममा चारकोसे जंगलबाट बोरिङ गरिएको ४ वटा इनारको पानी बुस्टर पम्पमार्फत पु¥याइएको हो । यी दुवै सिस्टमको लागि ८० लाख लिटर दैनिक पानी उत्पादन हुने आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख पोख्रेलका अनुसार शनिबारसम्म एउटा मात्र बुस्टर पम्प चलाइनेछ । त्यसबाट दिनभरिमा २५ लाख लिटर पानी फाल्न सक्ने अनुमान गरिएको उनले बताए । आइतबारदेखि थप अर्को बुस्टर पम्प चल्ने र २४ घण्टामा ५० लाख लिटर पानी आपूर्ति हुन सक्ने उनले बताए । सुम्निमा र पिण्डेश्वर सबसिस्टमको लागि कुल ५ वटा बुस्टर पम्प बनाइएको छ । ती मध्ये ३ वटा नियमित चलाउने आयोजनाको भनाइ छ ।

कुल २२ मिलियन डलर ऋण तथा अनुदानमा सञ्चालित एकीकृत सहरी विकास परियोजनाअन्तर्गतको यो आयोजनामा ५ वटा सबसिस्टम रहेको छ । त्यसमध्ये रेल्वे सबसिस्टम सञ्चालन भएर पानी वितरण भइरहेको छ भने फुस्रे र पिण्डेश्वर सबसिस्टम सञ्चालनको तयारीमा छ । पञ्चकन्या सबसिस्टममा भने विवादका कारण रिजर्ब वेयर अझै बन्न सकेको छैन ।