भोजपुरः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी भोजपुरका १ सय ३७ सदस्यले शपथ लिएका छन् ।
पार्टीको जिल्ला नेतृत्वलाई नेकपा १ नं. प्रदेश इन्चार्ज भीम आचार्यले शपथ ग्रहण गराएका हुन् । कुल १ सय ३७ सदस्य रहेको भोजपुर जिल्ला कमिटीमा पूर्व एमालेबाट ७४ जना र पूर्व माओवादीबाट ६३ जना रहेका छन् । जसमा अध्यक्ष प्रेमकुमार राई र सचिवमा विमल खड्का छन् । त्यस्तै ४५ सदस्यीय सचिवालय बनाइएको छ ।
पार्टीको दैनिक कार्य सम्पादनको लागि ७ सदस्य रहेको टोली बनाइएको छ । जसमा अध्यक्ष र सचिवका अतिरिक्त देवीराम चौलागाई, शरणकुमार राई, वीरजंग राई, नगेन्द्र भुजेल र राजकुमार दंगाल ‘समुल’ रहेका छन् । असार ८ गते जिल्लाका ९ वटै स्थानीय तहमा स्थानीय तहका पदाधिकारीको शपथ ग्रहण कार्यक्रम राखिएको छ ।
शपथ ग्रहण कार्यक्रममा पार्टीका केन्द्र, प्रदेश र जिल्लास्तरका नेता तथा कार्यकर्ताको उपस्थिति थियो । कार्यक्रममा अधिकांश नेताले विगतमा कम्युनिष्ट पार्टी टुटफुट भएर विभाजित भएको र अहिले पनि सत्ताको घमण्ड नगरी जनताको घरघरमा पुग्नुपर्ने बताएका थिए । अब पार्टी विचार र सिद्धान्तले अघि बढ्नुपर्ने उनीहरूको भनाइ थियो ।
शपथ ग्रहण कार्यक्रममा केन्द्रीय कमिटी सदस्य हरिबहादुर राई, सुदन किराती, जयन्ती राई, अजम्बर काङमाङ तथा प्रदेश कमिटीका सचिव सुरेशकुमार राई ‘हिमाल’, देवराज घिमिरे, सावित्री काफ्ले लगायतका नेताले बोलेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा प्रदेश कमिटी इन्चार्ज भीम आचार्यले जिम्मेवारीविहीन हुँदा हजारौं कार्यकर्तामा रहेको अन्योल अब हट्दै गएकाले पार्टी अब सशक्त भएर अघि बढ्ने बताए ।
सचिव सुरेशकुमार राई ‘हिमाल’ ले छिटै वडा कमिटीसम्मलाई पूर्णता दिएर पार्टी र जनप्रतिनिधिको समन्वयलाई प्रभावकारी ढङ्गबाट अघि बढाउनुपर्ने बताए ।