पथरीः मोरङको उत्तरी नगरपालिका लेटाङले आउँदो आर्थिक वर्षदेखि गोलभेंडा र चौपायामा लगाउँदै आएको कर हटाउने भएको छ ।
लेटाङको ८० प्रतिशत भू–भाग कृषियोग्य जमिन रहेको छ । नगरपालिकाको कुल जनसङ्ख्याको ९० प्रतिशतले कृषि पेशा गर्दै आएको नगरपालिकाले जनाएको छ ।
‘किसानसँग मेयर’ कार्यक्रमअन्तर्गत गत वर्षको कार्यक्रमको समीक्षा गर्दै नगर प्रमुख शङ्कर राईले कर हटाउने बताएका हुन् । समृद्व लेटाङ, सुखी लेटाङेली बनाउने आफ्नो लक्ष्यलाई पूरा गर्न सो कर हटाइने उनले बताए ।
आर्थिक वर्ष २०७५÷७६ को विनियोजित रकममध्येबाट नगरपालिकाले किसानको समृद्धिका लागि भन्दै १० वटा समूहमा ३० लाख रुपैयाँ विनियोजन गरेको थियो । सो रकमबाट ती समूहले चौपाया खरीद गरेका थिए ।
कार्यक्रममा नगरपालिकाकी उप–प्रमुख कृष्णकुमारी निरौलाले लेटाङ उर्वर भूमि रहेको बताइन् । आगामी वर्षको बजेटमा कृषि र किसानका मागलाई विशेष सम्बोधन गर्दै नयाँ कार्यक्रमका साथ बजेट प्रस्तुत हुने उनले बताइन् ।
हाल किसानले उत्पादन गरेको वस्तुले उचित बजार र मूल्य नपाउनुका साथै बिउबिजन र मलखाद सहज रूपमा उपलब्ध नभएको किसानको भनाइ छ । सो कार्यक्रममा नगरपालिकाले उत्कृष्ट काम गर्ने ७ जना किसानलाई ७ वटा टनेल र युवा व्यवसायी समूहलाई हाते ट्याक्टर प्रदान गरेको थियो ।