उर्लाबारीः पूर्वी नेपालमा बसोबास गर्दै आएका धिमालहरू यतिबेला जात्री पर्वमा रमाइरहेका छन् । धिमालहरूको उद्गम स्थल मानिने मोरङको लेटाङस्थित राजारानीबाट बैशाख २ गते शुरु भएको जात्री यतिबेला विभिन्न टोल तथा गाउँमा मनाइँदैछ ।

यसै क्रममा मोरङको उर्लाबारी–८ स्थित अठियाबारीमा जात्री पर्वको अवसरमा धिमाल नृत्य प्रतियोगिता सम्पन्न भएको छ । परिवर्तनशील धिमाल युवा सङ्घ उर्लाबारी–८ को आयोजनामा भएको उक्त नृत्य प्रतियोगितामा दोघरे गाउँटोल समिति झापा पहिलो भएको थियो ।

त्यस्तै, ठूलो अर्नाखाडी गाउँटोल समिति झापा दोस्रो र आम्बारी गाउँटोल समिति मोरङ तेस्रो भएका थिए । ती गाउँटोल समितिले ट्रफी र प्रमाणपत्रसहित क्रमशः नगद १५ हजार १, १० हजार १ र ७ हजार १ प्राप्त गरेको सङ्घका सचिव सुनिल धिमालले जानकारी दिए । पहिलो, दोस्रो र तेस्रो हुनेलाई मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) ले पुरस्कार वितरण गरेका थिए ।

सोही अवसरमा मिस धिमाल २०१९ का विजेतालाई सम्मानसमेत गरिएको थियो । शारीरिक सुगठन प्रतियोगिता मिस्टर नेपाल च्याम्पियनसीप २०७५ का उपविजेता ललित धिमाललाई पनि सम्मान गरिएको थियो । जात्री पर्व असार २ गते उर्लाबारीस्थित धिमाल जातीय विकास केन्द्रमा समापन हुने जनाइएको छ ।