इटहरीः इटहरीका मेयर द्वारिकलाल चौधरीले पत्रकारमाथि दिएको धम्कीको विषयमा अध्ययन गर्न बनेको मिसन टोलीले आफ्नो प्रतिवेदन बुझाएको छ ।

यही जेठ २१ गते मेयर चौधरीले पत्रकार विराट अनुपमलाई नाकको डाँडी भाँच्न १ करोड छुट्याएको र आफ्नो ज्यानको सुरक्षा आफैँ गर्नू भन्दै धम्की दिएपछि पत्रकार महासङ्घले मिसन टोली गठन गरेको थियो ।

पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य मोहनकाजी न्यौपानेको संयोजकत्वमा बनेको ४ सदस्यीय मिसन टोलीले प्रतिवेदनको सारांश सार्वजनिक गर्दै विस्तृत विवरण चाँडै उपलब्ध गराउने बताएको छ ।

प्रतिवेदनका अनुसार मिसन टोलीसँगको कुराकानीमा मेयर चौधरीले आफू पे्रस स्वतन्त्रता चाहने र पत्रकारिता जगतसँग मिलेर काम गर्न तयार भएको भन्दै आफूले गलत अभिव्यक्ति दिएको स्वीकार गरेका छन् । ‘कान समातेर सय पटक उठबस गर्न पनि तयार’ रहेको अभिव्यक्ति दिएको टोलीले जनाएको छ ।

पत्रकारलाई धम्की दिएपछि ‘संविधान र कानुन मान्दिनँ, निर्धाले मात्र कानुनको पालना गर्ने हो’ भन्नेजस्ता अभिव्यक्तिप्रति उनले सञ्चार माध्यममा दिएका थिए । यसअघि पत्रकार कृष्ण बहाब र विकल रेग्मीमाथिको आक्रमणसमेत निन्दनीय रहेको टोेलीले ठहर गरेको छ ।

टोलीले ३ दिन लगाएर तयार पारेको प्रतिवेदनमा मेयर चौधरीले पत्रकारका कारण भ्रष्टाचार नियन्त्रण गर्न बाधा परेको भन्ने कुरा भ्रामक रहेको र सीएफएल भ्रष्टाचार प्रकरण बाहिर ल्याउने काम पीडित विराट अनुपमले नै गरेको उल्लेख गरेको छ ।

मेयर चौधरी सम्बद्ध पार्टी नेकपा यस विषयमा गम्भीर नदेखिएको र कुनै धारणा सर्वजनिक नगरेको टोलीको ठहर छ । सोही दिन धरानमा पत्रकार दिलबाहादुर राईमाथि भएको आक्रमणमा धरानकै फुर्वा शेर्पालाई पक्राउ गरी कारबाही भइरहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मिसन टोलीले केही सुझाव पनि दिएको छ । मेयर चौधरीले गल्ती स्वीकार गरे पनि पीडित पक्षले अनुभूति गर्ने गरी मेयर चौधरीले आगामी गतिविधि सच्याउनुपर्ने र पत्रकारले प्रश्न सोध्ने अधिकारलाई स्वीकार गरी आलोचना स्वीकार गर्ने बानी बसाल्नुपर्ने टोलीले मेयरलाई सुझाव दिएको छ । समाचार लेखेकै आधारमा दुव्र्यवहार गर्ने कमजोरी स्वीकार गर्नुपर्ने र आगामी दिनमा यस्ता कमजोरी गर्न नहुने प्रतिबद्धता जनाउनुपर्ने उल्लेख गरिएको छ ।

विभिन्न समयमा पत्रकारले आचारसंहिताको ख्याल नगर्दा पत्रकारिता जगत नै आलोचित भइरहेको हुनाले महासङ्घका जिल्ला, प्रदेश र केन्द्रले विशेष तालीमको आयोजना गर्नुपर्ने पनि टोलीले सुझाएको छ । पत्रकारले पनि अरुलाई होच्याउने र अशिष्ट प्रश्न गर्ने बानी त्याग्नुपर्ने र सामाजिक सञ्जालमा जथाभावी टिप्पणी नगर्न सुझाइएको छ ।